न्युजिल्याण्डविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली भारत ६ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा न्युजिल्याण्डले दिएको १ सय रनको सामान्य लक्ष्य भारतले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि अविजित रहेका सूर्यकुमार यादवले ३१ बलमा एक चौकाको सहयोगमा सर्वाधिक २६ रन बनाए । त्यस्तै, इशान किशनले १९, कप्तान हार्दिक पाण्ड्याले अविजित १५, राहुल त्रिपाठीले १३, शुभमन गिलले ११ र वासिङ्टन सुन्दरले १० रन जोडे । न्युजिल्याण्डका लागि इश सोढी र माइकल ब्रेसवेलले एक/एक विकेट लिए ।
त्यसअघि लखनऊस्थित अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । टी–२० अन्तर्राष्ट्रियमा भारतविरुद्ध न्युजिल्याण्डले बनाएको यो हालसम्मकै सानो स्कोर हो । उसका लागि कप्तान मिचेल सान्टनरले अविजित १९, माइकल ब्रेसवेल, मार्क च्यापम्यानले १४/१४, फिन एलेन र डेभन कन्वेले ११/११ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले दुई, युजेवेन्द्र चहल, कुलदीप यादव, दीपक हूडा, वासिङ्टन सुन्दर र कप्तान हार्दिक पाण्ड्याले एक/एक विकेट लिए । भारतको यो यो जितपछि सिरिज १–१ को स्थितिमा आएको छ ।
पहिलो खेलमा भारत २१ रनले पराजित भएको थियो । भारत र न्युजिल्याण्डबीचको तेस्रो तथा निर्णायक खेल बुधबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।