logo-img

आर्चरको घातक बलिङमा ‘क्लिन स्विप’ बाट जोगियो इंग्ल्याण्ड

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा पाहुना टोली इंग्ल्याण्ड ‘क्लिन स्विप’ बाट जोगिएको छ । गएराति सम्पन्न तेस्रो खेलमा ५९ रनले विजयी भएसँगै इंग्ल्याण्ड ‘क्लिन स्विप’ बाट जोगिएको हो ।  

ऊ पहिलो र दोस्रो खेलमा क्रमशः २७ रन र पाँच विकेटले पराजित भएको थियो । घरेलु टोली दक्षिण अफ्रिकाले सिरिज ‘क्लिन स्विप’ गर्ने मौका गुमायो । तेस्रो खेलमा इंग्ल्याण्डले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४३.१ ओभरमा सबै विकेट गुमाएर २ सय ८७ रन मात्र बनाउन सक्यो । 

उसका लागि हेनरिक क्लासेनले ६२ बलमा सात चौका र दुई छक्कासहित ८० रन बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । त्यस्तै, रिज हेन्ड्रिक्सले ५२, एडन मार्कमले ३९, कप्तान तेम्बा बावुमाले ३५, वेन पार्नेलले ३४, डेविड मिलरले १३ र मार्को जेन्सनले १२ रन जोडे । 

इंग्ल्याण्डका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरले करियरकै उत्कृष्ट बलिङ गरे । ९.१ ओभर बलिङ गरेका उनले एक मेडनसहित ४० रन दिएर ६ विकेट लिए । त्यस्तै, आदिल राशिदले दुई र क्रिस वोक्सले एक विकेट हात पारे । 

त्यसअघि किम्बरलेस्थित डायमन्ड ओवलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४६ रन बनायो । उसका लागि जोस बटलर र डेविड मलानले शतकीय पारी खेले । 

१२७ बलको सामना गरेका बटलरले सात छक्का र ६ चौकाको मद्दतमा १३० रन बनाए । एकदिवसीयमा उनको यो ११ औं शतक हो । त्यस्तै, मलानले ११४ बलमा ६ छक्का र सात चौकाको सहयोगमा ११४ रनको पारी खेले । एकदिवसीयमा उनको यो तेस्रो शतक हो ।  



मोइन अलीले २३ बलमा चार छक्का र दुई चौकासहित ४१ रनको आक्रामक पारी खेले । साम करनले ११ र आदिल राशिदले अविजित ११ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले चार, मार्को जेन्सनले दुई र सिसान्डा मगलाले एक विकेट लिए ।  



  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार ७:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया