मधेसका गृह मन्त्री सिंह भन्छन् - प्रविधिलाई कृषि तथा पर्यटनसँग जोड्न आवश्यक

मधेस प्रदेशका नवनियुक्त गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले सूचना प्रविधिलाई कृषि तथा पर्यटनसँग जोड्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । आइतबार नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवाप्रदायक र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले सूचना प्रविधिलाई कृषि तथा पर्यटनसँग जोडेर मुलुक तथा प्रदेशलाई समृद्धिको बाटोमा लग्न सकिने धारणा राखेका हुन् । 

मन्त्री सिंहले नेपाल दूरसञ्चार प्राधिकरणको सेवालाई गरिब जनताको घरदैलोसम्म शुलभ तरिकाले प्रवाह गर्नुपर्नेमा जोड दिँदै अझै पनि धेरै गरिब जनताको पहुँचमा टेलिकम सहितका अन्य सञ्चार प्रदायकहरूको सेवा पुग्न नसकेकोले सबैको घरदैलोमा गुणस्तरीय सेवा पुर्याउन आवश्यक रहेको बताए ।

उनले नेपाल टेलिकम तथा एनसेल जस्ता सेवाप्रदायकहरूको सेवा अझै पनि प्रदेशका गाउँ घरमा प्रभावकारी किसिमले पुग्न नसकेकोले सेवालाई विस्तार र सहज गर्नका लागि प्रदेश सरकार समन्वय गर्न तयार रहेको बताए । 

कार्यक्रममा प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउतले विश्वका कतिपय देशहरूले समृद्धिको माध्यम सूचना प्रविधिलाई बनाइरहेको बताए । उनले नेपाल अहिलेसम्म पनि यसमा मामिलामा धेरै पछाडि रहेको जिकिर गरे । 

सूचना प्रविधिको अधिकतम प्रयोगसँगै साइवर अपराधका कुराहरू आउने भएकाले यसलाई पूर्ण सुरक्षित बनाउने गरि नेपाल दूरसञ्चार प्राधिकरणले काम गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले सूचना प्रविधिको विकासका लागि टावरको निर्माण आवश्यक भएको बताउँदै टावरको विषयमा गलत सूचना प्रवाहित हुने गरेकाले विभिन्न अवरोधका कारण विस्तार हुन नसकेको बताए । सञ्चारको रेडिएशन मानव स्वास्थ्यका लागि हानिकारक हुने निराधार हल्ला रहेको पनि उनको तर्क थियो ।





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार २०:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया