जनकपुरमा पेट्रोलियम भण्डारणका लागि जग्गा खोज्दै आयल निगम

नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेश थानीले जनकपुरधाममा पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गाको आवश्यकता रहेको बताएका छन् । 

शनिबार पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामको १५औं अधिवेशन तथा साधारणसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले पेट्रोलियम पदार्थको भण्डार क्षेत्र ठूलो खालको राख्नुपर्ने आवश्यकता रहेकोले जनकपुरधाममा जग्गाका लागि पहल भइरहेकोसमेत बताएका हुन् । 

‘पेट्रोलियम पदार्थ भण्डारणका लागि हामी अहिले अमलेखगञ्जबाट एकैचोटि विराटनगरसम्म पठाउँदै आइरहेका छौं,’ उनले भने, ‘बीचमा भण्डारका लागि ठाउँको अभाव छ । हामी जनकपुरधाममा भण्डारणका लागि प्रयासरत छौं ।’

थानीले जग्गाको समस्या समाधान भइसकेपछि जनकपुरधाममा पेट्रोलियम पदार्थ भण्डारणका लागि आयल निगम सदैव तयार रहेको प्रतिबद्धतासमेत जनाए । 

उनले नेपाल आयल निगम सरकारकी स्वामित्वको कम्पनी रहेको र यसमा सञ्चालक समिति पनि रहने भएकोले व्यवसायीलाई सबैजनासँग एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘जो जहाँ छन् त्यही ठाउँबाट इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

कार्यकारी निर्देशक थानीले धनुषा जिल्लाभरि रहेका करिब ८१ वटा पेट्रोल पम्पहरुको हकहितका लागि गठन भएको संस्था पेट्रोलियम डिलर्स एसोसिएसनलाई एकताबद्ध रुपमा अगाडि बढ्न आग्रहसमेत गरे । 



थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का पनि अध्यक्ष हुन् ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले पेट्रोलियम व्यवसायीलाई मिलेर अगाडि बढ्न आग्रह गरे । उनले पेट्रोलियम पदार्थ सर्वसाधारणका लागि अति आवश्यक वस्तुमध्येको एक रहेकोले यस क्षेत्रमा बन्द हड्ताल नगर्न व्यवसायीसँग आग्रहसमेत गरे । 



उनले भने, ‘यो क्षेत्रमा बन्द हुनुपर्दैन । यो क्षेत्रमा हड्ताल हुनुपर्दैन । यो क्षेत्र संवेशनशील क्षेत्र हो । अन्य क्षेत्रभन्दा यो क्षेत्र फरक क्षेत्र हो । त्यसैले यो क्षेत्र सहज हुनुपर्छ ।’

  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार १८:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया