बाँकी जीवन घरमै आराम गर्दै अमेरिकी पूर्वराष्ट्रपति कार्टर

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले आफ्नो बाँकी जीवन आफ्नो परिवारसँग बिताउने निर्णय गरेका छन् । उनी कलेजो र मष्तिष्क रोगबाट पीडित छन् ।  

चिकित्सक टोलीको रेखदेखमा घरमै आराम गर्ने निर्णय पूर्वराष्ट्रपतिले गरेको कार्टर सेन्टरले शनिबार एक वक्तव्य निकालेर जनाएको हो । 

९८ वर्षीय कार्टर अमेरिकाको इतिहासमा ह्वाइट हाउसबाट बाहिरिएपछि लामो जीवन बाँच्ने पूर्वराष्ट्रपतिमा पर्छन् । उनले जनवरी १९७७ देखि जनवरी १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपतिका रूपमा देशको नेतृत्व गरेका थिए ।

आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउनेदेखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट–इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गरेका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित भएका थिए ।

मानवीय सहायता, गरिबीको चपेटामा परेका अफ्रिकी महादेशका मुलुकका साथै विश्वका अन्य भागमा बढेको द्वन्द्व अन्त्य गर्न पूर्वराष्ट्रपति कार्टरले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न, लोकतन्त्र र मानवअधिकारको रक्षाका साथै आर्थिक एवं सामाजिक विकासको प्रवर्द्धनमा अथक प्रयास गरेबापत उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।  





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १२:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया