नेताहरूले पदको बाँडफाँटका लागि लोकतान्त्रिक अभ्यासलाई अवरोध गरे : तमलोपा अध्यक्ष लाल

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले आफ्नो पार्टीले लोकतन्त्र र मधेस मुद्दाको मशाल जलाइरहने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा तमलोपा धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले आज यस्तो बताएका हुन् । 

उनले भने, ‘राजनीतिक दल तथा नेताहरू पदको बाँडफाँट र त्यसको निमित्त लोकतन्त्रको स्वाभाविक अभ्यासलाई अवरोध गर्ने कार्य गरिरहेका छन् । नयाँ जेनरेसनको नेतृत्व क्षमता रोक्ने काम भइरहेको छ । सबैको ध्यान राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र कुर्सीमा छ । पदबारे सहमतिको कुरा हुन्छ तर लोकतन्त्रको संवर्द्धन र भ्रष्टाचारको अन्त्य गर्नबारे सहमति र एकजुट प्रयासको निमित्त कुनै चर्चा नै हुँदैन ।’

उनले मधेस मुद्दा मधेसको मात्र नभई सम्पूर्ण देशको मुद्दा रहेको बताए । पहिचानमा आधारित विविधताको सम्मान सहितको नव राष्ट्रियता, सुशासन, समावेशिता, समानुपातिक प्रतिनिधित्व मधेसको मात्र नभई सम्पूर्ण देशको मुद्दा रहेको अध्यक्ष लालको जिकिर छ । 

‘मधेसको नाममा राजनीति गर्ने नेताहरू राजधानीमा पदको निमित्त दरबारहरूमा हार–गुहार गर्ने र मधेसमा आन्दोलनको भाषा बाँड्ने गरेका छन्, उनले भने, ’तर, यथार्थमा उनीहरुले मधेस मुद्दा बिसाएका छन् ।’

तमलोपाले लोकतन्त्र र मधेस मुद्दाको मशाल जगाइरहने अध्यक्ष लालको भनाइ छ । लोकतन्त्र र मधेश–थरुहटको मुद्दाप्रति प्रतिवद्ध सबैलाई एकजुट हुन उनले आग्रहसमेत गरे । 

तमलोपा धनुषाका उपाध्यक्ष नारायण राउतको अध्यक्षतामा जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीस्थित राजर्षि जनक माध्यमिक विध्यालयमा भएको वृक्षारोपण कार्यक्रममा विद्यालय हाताको चारैतिर गुलमोहर, नीम, पतरखलगायत २५ जातका विरुवाहरू रोपिएको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए । 



प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा तमलोपाका सतीश लाल दास, नेतृ विभा ठाकुर, विद्यालयका प्रधानाध्यापक बिनोद साहले अमर शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
 
वृक्षारोपण कार्यक्रममा तमलोपाका नेताहरू जोगी राय, हेमनाथ साह, भोलानाथ झा, रमेश अधिकारी, भगिरथ लाल, इश्वर पंडित, राधिका चौधरी, सुनिता कर्ण, अञ्जना दत्त, श्याम मण्डललगायतका सहभागी थिए ।



  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १९:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया