चुरे संरक्षण अभियानकर्ताले आजदेखि अनिश्चितकालीन धर्ना दिँदै

चुरे तथा वन जङ्गल संरक्षण अभियानकर्ता विभिन्न ५ बुँदे माग राख्दै आजदेखि अनिश्चितकाल धर्ना बस्ने भएका छन् । आज दिउँसो २ बजेदेखि अनिश्चितकालीन धर्ना दिन लागिएको चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनील यादवले जानकारी दिए । 

आज दिउँसो २ बजेदेखि हजारौँको संख्यामा सहभागी भई स्थानीय भुतही पोखरीबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रदर्शन गर्दै राराब क्याम्पसको पूर्वपट्टी चौरमा धर्ना दिने यादवले बताए ।  

संयोजक रायले चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् । 

उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए । 

संयोजक यादवले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिका प्रमुखहरू चक्रीय प्रणालीमा व्यवस्था गर्नका लागि संघ सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गरोस् भन्ने पनि हाम्रो माग रहेको बताए । 

उनले आफूहरूको मागप्रति संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकाय सजग नभएकोले बाध्य भएर फेरि आन्दोलनमा उत्रन लागेको जानकारी दिए । सामाजिक अभियन्तासमेत रहेका रायले संघीय निजामती सेवा ऐन, नागरिकता ऐन संशोधन गर्न नसक्दा अनेकाैँ समस्या जनजीविकाको सवाल भएर आएको बताउँदै मधेस मरुभूमि करण हुने संकट निकट भविष्यमा नै देखा पर्न सक्ने स्थिति उत्पन्न भएको अवस्थामा अझ सेटिङ्गमार्फत अवैध क्रसर उद्योगलगायत नीतिगत रूपमै ढुंगा, बालुवा निकासीका लागि मापदण्डबिना नै अनुमति प्रदान गर्ने काम नरोकिनु चिन्ताको विषय रहेको जिकिर गरे । 



उनले आफूहरूको माग पुरा गराउन आगामी दिनमा पनि शान्तिपूर्ण रूपमा धर्ना, दबाब सिर्जना गर्न एक घण्टे चक्का जाम, ग्रास रुट मुभमेन्टको रूपमा गाउँगाउँमा अभियानलगायत थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । 



  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार ११:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया