logo-img

पाँचसूत्रीय माग राख्दै चुरे अभियानी अनिश्चितकालीन धर्नामा

चुरे तथा वन जंगल संरक्षण अभियानीहरूले विभिन्न पाँच सूत्रीय माग राख्दै आजदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । विगतमा तीनवटै तहका सरकारहरू आफूहरूको मुद्दाप्रति गम्भीर नभएकोले आजदेखि बाध्य भएर ‘जनआवाज आन्दोलन’ थालेको चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए ।
 
संयोजक यादवले धर्नाअघि ध्यानाकर्षणस्वरुप दिउँसो २ बजेदेखि हजारौंको संख्यामा सहभागी भई स्थानीय भुतही पोखरीबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसमेत गरेको बताए । 

अभियानीहरूले स्थानीय राराब क्याम्पसको पूर्वपट्टी चौरमा साँझ ६ः३० बजेदेखि धर्ना दिन सुरु गरेका छन् । संयोजक यादवले आजदेखि माग पूरा नभएसम्म धर्नास्थलमै खाना पकाउने, त्यहीँ खाने र धर्नामा बस्ने बताए । उनले माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
 
संयोजक रायले चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधिउपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय सहीद घोषणा गर्नुपर्ने माग गरेका छन् ।

उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए ।

संयोजक यादवले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिका प्रमुखहरू चक्रीय प्रणालीमा व्यवस्था गर्नका लागि संघ सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गरोस् भन्ने पनि हाम्रो माग रहेको बताए ।

उनले आफूहरूको मागप्रति संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकाय सजग नभएकोले बाध्य भएर फेरि आन्दोलनमा उत्रन लागेको जानकारी दिए । 
उनले संघीय निजामती सेवा ऐन, नागरिकता ऐन संशोधन गर्न नसक्दा अनेकन समस्याहरू जनजीविकाको सवाल भएर आएको बताउँदै मधेस मरुभूमि करण हुने संकट निकट भविष्यमा नै देखा पर्न सक्ने स्थिति उत्पन्न भएको अवस्थामा अझ सेटिङमार्फत अवैध क्रसर उद्योग लगायत नीतिगत रुपमै ढुंगा, बालुवा निकासीका लागि मापदण्ड बिना नै अनुमति प्रदान गर्ने काम नरोकिनु चिन्ताको विषय रहेको जिकिर गरे ।

उनले आफूहरूको माग पुरा गराउन आगामी दिनमा पनि शान्तिपूर्ण रूपमा धर्ना, दबाब सिर्जना गर्न एक घण्टे चक्काजाम, ग्रास रुट मुभमेन्टको रूपमा गाउँ गाउँमा अभियान लगायत थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार २०:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया