logo-img

सवारी दुर्घटना : तनहुँमा मात्रै सात महिनामा १५ जनाले गुमाए ज्यान

तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ । 

गत आव २०७८/७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो । कार्यालयले सात महिनाकै अवधिमा सवारी साधनलाई कारबाही गरेर दुई करोड नौ लाख ३७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरीले २६ हजार सात सय सवारी साधनलाई कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको हो । 

कारबाहीमा पर्नेमध्ये दुई पाङ्ग्रे सवारी साधनको सङ्ख्या बढेको छ । नौ हजार पाँच सय ४४ मोटरसाइकल तथा स्कुटर, पाँच हजार एक सय ४५ ट्रक, टिपर, पाँच हजार नौ सय २९ कार, जिप, एक हजार दुई सय १९ ट्याक्टर र चार हजार छ सय ५८ यात्रुवाहक बस र दुई सय पाँच अन्य सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ४४ र आव ०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । 

जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्टले बताए ।  





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ११:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया