logo-img

मधेस सरकारले मधेसी शहीद लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाउँदैछ : मन्त्री यादव

मधेस प्रदेश सरकारले मधेशी शहीद लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको छ । आइतबार भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले करिब ३११ किलोमिटरको मधेशी शहीद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका हुन् । 

मन्त्री यादवले कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि रुट रेखांकन सार्वजनिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेन्डर प्रक्रियामा जाने जानकारी दिएका छन् । उनले प्रदेशकै स्वाभिमान र स्वगौरवको यस आयोजनाको रेखांकन मन्त्रालयको दुई महिनाको अध्ययन, अनुसन्धान र खटाईको उपलब्धि पश्चात् सार्वजनिक गर्न सकेको बताए । 

पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भागमा समेटेर सप्तरीदेखि पर्सासम्मको बिचको भू–भागलाई जोड्नेगरि मधेशी शहीद लोकमार्ग निर्माण गरिने मन्त्री यादवले जानकारी दिए । 
रेखांकन सर्वेका लागि टेन्टर लगाइसकिएको र सर्वे डिजाइन गरेर पेश गर्ने सम्झौतासमेत भइसकेको बताउँदै आगामी दुई महिनाभित्र सर्वे डिजाइनको डिपिआर मन्त्रालयमा पेस गरिने तथा यस आर्थिक वर्षको अन्त्यसम्ममा मधेसी शहीद लोकमार्ग निर्माणका लागि टेन्डर लगाइ सकिने दाबी गरेका छन् । 

मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले विगत दुई आर्थिक वर्षदेखि मधेशी शहीद लोकमार्ग निर्माणको कार्यक्रम स्वीकृत भई कार्यान्वयन हुन नसकिरहेको अवस्थामा अन्तिम चरणमा अलाइनमेन्ट सकेर आज सार्वजनिक गर्न सफल भएको बताए । 

उनले यस लोकमार्गको अलाइनमेन्ट सलेक्शनका लागि ईओआई ईबिडिङ्गबाट सूचना प्रवाह गरी कन्सलटेन्ट हायर गरेर तिनवटा अलाइनमेन्ट बनाउन लगाइएको र तीनवटा मध्ये इकोनोमिक, छोटो र सिधा अलाइनमेन्ट कार्यान्वयनका लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई मन्त्रीपरिषद्मा लग्ने तयारी भइसकेको जानकारी दिए । 

हुलाकी राजमार्ग र महेन्द्र राजमार्गको बिचबाट एउटा डबल लेनको बाटो निर्माण गर्नका लागि मधेसी शहीद लोकमार्गको परिकल्पना गरिएको र यसको भोलिदेखि नै डिपिआर बन्ने कामको शुरुवात हुने उनले बताए । यस लोकमार्गको डीपिआर निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । 



३११ किलोमिटरको यस लोकमार्ग निर्माणको कामलाई चार प्याकेजमा विभाजित गरिएको छ । जसअन्तर्गत सप्तरीदेखि सिरहासम्मको एउटा प्याकेज, सिरहादेखि धनुषासम्मको दोस्रो, सर्लाहीदेखि रौतहटसम्मको तेस्रो र बारादेखि पर्सासम्मको चौँथो प्याकेज रहने छ । 

उनले चारवटै प्याकेजमा चारवटा कन्सल्टेन्टहरु डीपिआर निर्माणको काममा जुटिसकेको जानकारी दिए । उनले यस लोकमार्गअन्तर्गत विभिन्न रुट गरी सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोत्तरीमा २३ किलोमिटर कालोपत्रे सडक बन्ने जानकारी दिए । दुईलेनको सो सडक सर्लाहीमा ५१, रौतहटमा २०, बारामा ३६.८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे निर्माण गरिने उनले बताए । 



  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १६:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया