प्रदेश सरकारले दिएका एम्बुलेन्स तीन वर्षमै बिग्रिए, फिर्ता गरेर आफैं किन्दै स्थानीय तह

सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्सलाई बैतडीका स्थानीय तहबाट तीन वर्षमै फिर्ता गरिएका छन् । जिल्लाको पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेका हुन् । 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स ग्रामीण सडकमा सञ्चालनमा समस्या आएको भन्दै फिर्ता पठाएका स्थानीय तहले जनाएको छन् । 

पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बीना भट्टले प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स बेलाबेला बिग्रने र मर्मत खर्च धेरै नै आउन थालेपछि फिर्ता पठाएको बताइन् । कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाएको हो । 

‘गाउँपालिकाले आफ्नै बजेटबाट एम्बुलेन्स किन्ने तयारी थालेका छौँ । ग्रामीण सडकमा सहजरूपमा सञ्चालन हुने एम्बुलेन्स किन्छौँ,’ उनले भनिन् ।   

मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स पहाडी जिल्लाका ग्रामीण सडकमा सञ्चालन गर्न असहज हुने गरेको गुनासो बढेको छ । एकपटक बिरामीलाई बोकेको अवस्थामा मर्मत गर्नैपर्ने स्थितिका एम्बुलेन्स रहेको चालकले बताएका छन् ।    

सामाजिक विकास मन्त्रालयले १७ कात्तिक २०७६ मा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । पञ्चेश्वरको कुलाउ स्वास्थ्यचौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर धनगढीमा थन्किएको थियो । 



डिलासैनी गाउँपालिकाकाले पनि प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको  प्रवक्ता यज्ञ भट्टले बताए । बेलाबेलामा बिग्रने र मर्मत खर्च धेरै आउने समस्याले गर्दा एम्बुलेन्स एक वर्षदेखि ठप्प थियो ।  

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो । रासस  



  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार ८:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया