logo-img

उद्योग वाणिज्य महासंघ निर्वाचन : जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एसोसिएटको जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फको मतदान सकिएको छ । 

एसोसिएटतर्फतको मतदान जारी रहेको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए । बिहान ८ बजेदेखि सुरु भएको मतदान बीचमा केहीबेर अवरोध भएकाले थप दुई घण्टा समय थप गरेर साँझ ६ बजेसम्म कायम गरिएको छ । हालसम्म जिल्लानगर र वस्तुतर्फको मतदान सकिइसकेको छ भने एसोसिएटतर्फ एक हजार पाँच सयभन्दा बढी मत खसिसकेको उनले बताए । 

महासंघका अनुसार वस्तुगततर्फ एक सय २३ र जिल्ला नगरतर्फ एक सय १९ जना मतदाता छन् भने एसोसिएटतर्फ एक हजार सात सय ६२ मतदाता छन् । निर्वाचन अधिकृत कर्णका अनुसार जिल्लानगर र वस्तुगततर्फ शतप्रतिशत मतदान भएको छ ।

यो निर्वाचनबाट आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुनिँदै छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन् । अहिले वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ । 
       
निर्वाचनमा संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हीराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन् । अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् । 

उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य छन् ।

महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेबीच प्रतिस्पर्धा छ । 



मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सविन श्रेष्ठ आमनेसामने भएका छन् । गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी छ । 

त्यस्तै, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जंगबहादुर मल्लको उम्मेदवारी छ ।
       
संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनेछन् । वस्तुगत संघतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् । 



त्यस्तै, जिल्ला नगर संघ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एसोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सं३ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेमा दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार २१:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया