सुदूरपश्चिममा भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण

केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो ।

प्रदेशमा चैतमा मात्रै २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो ।  

नयाँ वर्ष तथा बिसु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमण दर पनि बढ्न थालेको जोशीले बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ । भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।  

यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै  स्वदेश भित्रिन दिइने गरिएको छ ।  परीक्षणपछि सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ ।  

सङ्मितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताए ।



सङ्क्रमणको जोखिम बढेसँगै कोरोनाविरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ ।   

सुदूरपश्चिममा हालसम्म ६ लाख ५४  हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार १ सय ६८ जनामा सङ्क्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसमम सुदूरपश्चिममा ६ सय ३५ जनाको मृत्यु भएको छ । रासस



  • प्रकाशित मिति : वैशाख १, २०८० शुक्रबार १४:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया