सुदूरपश्चिममा यस्तो रह्यो राजनीतिक हिसाबकिताब

सुदूरपश्चिम प्रदेशका लागि पनि २०७९ साल देशभर जस्तै चुनावी वर्ष बन्न गयो । स्थानीय निर्वाचन वैशाख ३० गते सम्पन्न भयसँगै नयाँ जनप्रतिनिधि पायो । स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा केही नयाँ दलहरूको उदय भयो । पुराना दलहरूलाई पछि पार्दै टिकापुर घटनाको पृष्ठभूमिमा गठन भएको नागरिक उन्मुक्ति पार्टीको उदय भयो । त्यसले गर्दा २०७९ सुदूरपश्चिमका लागि राजनीतिक हिसाबले महत्त्वपूर्ण रह्यो । 

नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय राजनीतिमा पनि  पहिचान बनाउन सफल भयो । स्थानीय निर्वाचनमा केही नयाँ अनुहार पनि निर्वाचित भए । प्रदेशको अस्थायी मुकाम रहेको स्थानीय तह धनगढी उपमहानगरपालिका अझ विशेष चर्चामा रह्यो । यहाँ राजनीति दलहरूका उम्मेदवारहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि देशभरको ध्यान यहाँ तानियो । 

स्थानीय तहको निर्वाचनमा मुख्य राजनीतिक दलहरूकाबीच तालमेल र गठबन्धन भए पनि धनगढी उपमहानगरपालिका, बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको विजय भएका हुन । धनगढीमा नगरप्रमुखमा गोपाल हमाल र डिलासैनी गाउँपालिकामा अध्यक्षमा सन्तोषप्रकाश जोशीको समूहले वडा अध्यक्षमा समेत जित निकाल्यो ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि त्यसको प्रभाव पछि मंसिर भएको प्रदेश र संघीय निर्वाचनमा देखियो । संघ र प्रदेशको निर्वाचनमा बाजुरा र बैतडीमा दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए । मंसिर ४ मा सम्पन्न प्रदेश र संघका निर्वाचनमा पनि अधिकांश नयाँ अनुहार हरू निर्वाचित भए । केही निर्वाचन क्षेत्रमा दलहरूका उम्मेदवारहरू बीच कडा प्रतिस्पर्धा देखियो । मंसिर ४ को निर्वाचनमा बाजुरामा दुखद घटना घट्यो । निर्वाचनको विषयलाई लिएर बाजुरामा भएको घट्नामा दुई जना युवाको अकालमा ज्यान गयो । बाजुरामा केही निर्वाचन केन्द्रमा पुनः निर्वाचन समेत गर्नुपर्‍यो ।

वैशाखमै भएको स्थानीय चुनावमा २०७८ पुसमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ मध्ये ४ वटा स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीको जित भयो । कैलालीमा स्थानीय तहमा सबैभन्दा ठुलो दल भएको नागरिक उन्मुक्तिले प्रदेश र संघीय निर्वाचनमा पनि राम्रो प्रदर्शन गर्न सफल रह्यो । प्रदेशमा प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ २ सदस्य सहित प्रदेश सभामा चौथो ठूलो दल बन्न सफल भयो भने संघमा कैलालीबाट तीन जना सदस्य निर्वाचित भए ।

मंसिर ४ मा भएको चुनावमा प्रदेश सभामा नेपाली काँग्रेस १९ जना सदस्यसहित सबैभन्दा ठूलो दल हुन सफल भयो । प्रदेश सभामा नेकपा माओवादी केन्द्र  र नेकपा एमाले क्रमशः दोस्रो र तेस्रो दल हुँदा अघिल्लो पटक प्रदेश सभामा सबैभन्दा ठूलो दल हुन सफल नेकपा एकीकृत समाजवादी पाँचौँ दलमा समेटियो ।



सुदूरपश्चिममा २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत प्रदेश सभामा उपस्थिति देखियो । राप्रपाले समानुपातिकतर्फ एक सिट जितेर अघिल्लो पटकको शून्यता मेटाएको हो । प्रदेश जनता समाजवादी र लोसपाको अघिल्लो पटक १/१ सदस्य रहेकामा यो पटक भने प्रतिनिधित्व हुन सकेन । दलहरू बीचको गठबन्धन ताड्ने र बनाउने खेलका बीच सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष दुई महिनाको फरकमा दुई जना मुख्यमन्त्री नियुक्त भए । पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले मन्त्रीमा नेकपा माओवादीका खगराज भट्ट र एमालेकै सन्तोष थापालाई नियुक्त गरे पनि मन्त्रालयको टुङ्गो नलाग्दै मुख्यमन्त्री रावलले माघ २६ मा पद त्याग गर्नुपर्ने अवस्था आयो । त्यस लगत्तै माघ २६ मै प्रदेश सभामा सबैभन्दा ठुलो दलको नेताको हैसियतले नेपाली काँग्रेसका कमलबहादुर शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरे । केन्द्रमा भएको राजनीति गठबन्धनको असर प्रदेशमा पनि परेको हो ।



माघ २७ मा आर्थिक मामिला मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाह र भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाशबहादुर देउवा नियुक्त भए । मुख्यमन्त्री शाहले फागुन २१ मा दुई तिहाइ मत प्राप्त भयो । मुख्यमन्त्री शाहलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा सरकार रहेको छ । अहिले पनि राजनीतिक घटनाक्रमले गर्दा सुदूरपश्चिम प्रदेश सरकारले अहिले पनि पूर्णता पाउन सकेको छैन । बजेटको तयारी गर्न पर्ने वेलामा केन्द्रमा भागभण्डा नमिल्दा सरकार विस्तार हुन नसकेको हो । 

  • प्रकाशित मिति : वैशाख १, २०८० शुक्रबार २०:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया