देश आर्थिक रुपमा श्रीलंका र पाकिस्तान हाेला भनेर आत्तिनुपर्ने अवस्था छैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशमा अराजकता बढ्दै गएको बताएका हुन् । 

देशका आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गर्दै उनले भने, ‘आर्थिक मात्रै होइन राजनीतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिँड्न सकेको छैन ।’
 
नेपाल आर्थिक रुपमा श्रीलंका र पाकिस्तान नहुने दाबी गर्दै नेता कोइरालाले भने, ‘श्रीलंका र नेपालको परिस्थिति र अवस्था बेग्लै छ । हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ । त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन । तर, अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ ।’ 

कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । 

त्यसैगरी पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए । 

कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको औँल्याए । उनले आगामी उपनिर्वाचनमा मूलधारका पार्टी पराजित भए देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उब्जिने उल्लेख गरे ।
 
सो अवसरमा पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश इन्चार्ज कविराज घिमिरे, नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, महासमिति सदस्य गयानन्द मण्डल, महाधिवेशन प्रतिनिधि सीता कार्की, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, नेविसंघका मोरङ सभापति सरोज पोखरेललगायतले ठूला पार्टीहरुमा शुद्धीकरण आवश्यक रहेको बताएका थिए । 
 





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार १८:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया