logo-img

पोष्टबहादुर बोगटी स्मृति कप भलिबलकाे उपाधि एपिएफ क्लबलाई

प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनलमा एपिएफले नेपाल प्रहरीलाई २५–२०, १८–२५, २५–१६ र २५–२२ को सेटमा पराजित गरेकाे हाे । 

लिगको पहिलो खेलमा प्रहरीले एपिएफलाई ३–० ले हराएको थियो । समूह चरणमा प्रहरीसँग बेहोरेको एपिएफले हारको बदला लिँदै उपाधिमा कब्जा जमायाे । 

उपाधिसँगै एपिएफले ४ लाख तथा प्रहरीले २ लाख नगद पुरस्कार हात पारेका छन् । नेपाल आर्मीले तेस्राे स्थानमा चित्त बुझाउँदा गण्डकी प्रदेशले सान्त्वना पुरस्कार पायाे । आर्मीले १ लाख नगद पुरस्कार पायो । सान्त्वना पुरस्कार स्वरुप गण्डकीलाई ५० हजार नगद पुरस्कार प्रदान गरियो । 

तेस्राे स्थानका लागि शनिबारै भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई २५–१८, २५–११ र २९–२७ ले पाखा लगाएकाे थियो । 

प्रतियोगितामा एपिएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे । 

अन्य विधागततर्फ स्पाइकरमा आर्मीका धनबहादुर भट्ट, लिब्रोमा एपिएफका विनोद चन्द, सेटरमा एपिएफका लोकेन्द्र गिरी, ब्लकरमा एपिएफका सुनिल घर्ती मगर, सर्भरमा प्रहरीका इम राना मगर तथा प्रशिक्षकमा एपीएफका महेशप्रसाद चौधरी उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही १० हजार नगद पुरस्कार जिते ।



विजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण अधिकारी र महासचिव निर्मल आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।



  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार १९:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया