वर्षमान पुनकी आमालाई दुर्घटनावश गोली लागेको प्रहरीको प्रारम्भिक निष्कर्ष

नेपाल प्रहरीले नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार दुर्घटनावश भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । 

घटनामा संलग्न प्रहरी सहायक हवल्दार प्रकाश पुनमगरलाई शनिबार बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ ।

प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए । 

‘प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने । प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हवल्दार पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो । 

सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ । शनिबार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए । 

पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन् । नयाँ वर्ष मनाउने क्रममा पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरू पनि सहभागी रहेका प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार २२:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया