महिनौँदेखि प्रयोगविहीन २९ करोडको होल्डिङ सेन्टर, तटबन्ध नहुँदा नदीले बगाउने खतरा

कैलालीको धनगढीमा होल्डिङ सेन्टर निर्माण भएको महिनाैँ बिते पनि प्रयोगमा आउन सकेको छैन । कोरोना संक्रमितलक्षित गरी बनाएको करिब २९ करोडको​ होल्डिङ सेन्टर ८ महिना बित्दा पनि प्रयोगमा आउन नसकेको हो ।​

सुदूरपश्चिममा फेरि पनि कोरोना संक्रमणदर बढेको छ । तर होल्डिङ सेन्टर प्रयोगमा ल्याउने विषयमा भने कुनै निकायको ध्यान पुगेको छैन । होल्डिङ सेन्टर १ हजारभन्दा बढी मानिसलाई राख्नसक्ने क्षमताको छ ।  

संघीय सरकारको २८ करोड ८१ लाख रुपैयाँ लागतमा बनेको होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम बढेको छ । कोरोना संक्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाका नजिक हतारहतारमा होल्डिङ सेन्टर निर्माण गरेको थियो । 

सुरुमा तीन महिनाभित्र निर्माण गरिसक्ने सम्झौता भए पनि झन्डै एक वर्षपछि गत साउनमा होल्डिङ सेन्टरको काम पूरा भएको थियो । धनगढी उपमहानगरपालिका–३ मा निर्माण भएको होल्डिङ सेन्टर कुन निकायले सञ्चालन गर्ने भन्ने निर्णय नहुँदा पनि प्रयोगमा आउन ढिलाइ भइरहेको हो । होल्डिङ सेन्टर प्रगति सामुदायिक वन र ज्योति सामुदायिक वनमा बनेको छ ।  

नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले निर्माण गरेको होल्डिङ सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन् । जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहितका ब्लक निर्माण गरिएका छन् । १४ वटा क्वारेन्टिन ब्लकमा ३ सयवटा शय्या राखिएका छन् । 



धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले होल्डिङ सेन्टर कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्नेबारे पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको बताए ।

‘होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनदेखि प्राविधिक कलेज सञ्चालन गर्नुपर्दछ भनेर उपमहानगरले प्रस्ताव गरेको हो’, वडा अध्यक्ष ऐरले भने, ‘तर, सरकार फेरबदल हुँदा प्रभावित भएको देखिन्छ । अर्को कुरा फेरि अहिले कोरोना संक्रमण देखिन थालेको छ । यसले गर्दा कुन प्रयोजनमा प्रयोगमा ल्याउने झन् समस्या भएको छ ।’



रक्षा मन्त्रालयका अधिकारी आएर होल्डिङ सेन्टर प्रयोगबारे छलफल र अध्ययन गरेर फर्किएको उनले बताए । यसअघि कोरोना संक्रमण सामान्यतर्फ उन्मुख रहेका बेला कुन निकाय मातहत होल्डिङ सेन्टर सञ्चालन गर्ने भन्ने तय नभएकाले पनि सञ्चालनमा ढिलाइ भएको हो । 

नदीको जोखिममा होल्डिङ सेन्टर 

होल्डिङ सेन्टर नदी कटानको जोखिममा समेत रहेको छ । होल्डिङ सेन्टर प्रयोगमा आउन नसक्दा तटबन्ध पनि कसले गर्ने भन्ने विषयमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीय बताउँछन् । मोहनामा तटबन्ध नगरे बर्सातमा होल्डिङ सेन्टर नदीले बगाउने जोखिम रहेको स्थानीय महेश विष्टले बताए । 

‘मोहनाको डिलमै सरकारले करोडौं खर्चेर होल्डिङ सेन्टर बनाएको छ । तर नदीमा अहिलेसम्म तटबन्ध भएको छैन,’ उनले भने, ‘तटबन्ध गरिएन भने मोहनाको बाढीमा होल्डिङ सेन्टर बग्ने खतरा छ ।’ 

मोहना नदीको बाढीको चपेटामा सिङ्गो होल्डिङ सेन्टर पर्नसक्ने भन्दै वडा नम्बर ३ का स्थानीय रामचन्द्र ढुङ्गानाले चिन्ता व्यक्त गरे । अर्का स्थानीय मोहन शाहीले सरकारले लाखौँ रुपैयाँ खर्च गरेर होल्डिङ सेन्टर निर्माण गरे पनि सही सदुपयोग गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

‘होल्डिङ सेन्टर निर्माणमा सरकारको बजेट खर्च भएको छ । तर, प्रयोगमा ल्याउन नसक्दा नदी कटानको जोखिममा छ, यस विषयमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । संरचनाहरू पनि जीर्ण हुन थालेका छन्,’ उनले भने ।

निर्माण सुरु भएको बेला तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले होल्डिङ सेन्टरको संरक्षण गर्ने जिम्मा प्रदेश सरकारको भएको बताएका थिए । त्यसपछि भने प्रदेश सरकारले होल्डिङ सेन्टर सञ्चालनको विषयमा कुनै चासो देखाएको छैन ।  

  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार ९:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया