फोहोरबाट आम्दानी गर्दै कुश्मा नगरपालिका, चिटिक्क देखियो बजार

सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहोर व्यवस्थापनमा चुनौती थपिन थालेको छ ।

कतिपय पालिकालाई फोहोर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जन मात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन् । यसमध्ये पर्वतको कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहोर व्यवस्थापनबाट दैनिक १० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।

बजार क्षेत्रको फोहोर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्माले वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ । नगरभित्रको फोहोरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहोर​बाट आम्दानी गर्न थालेको हो ।

कुश्मा–४ छमर्केस्थित घुम्तीमा फोहोर व्यवस्थापन गरिँदै आएको पालिकाले जनाएको छ । जग्गा छनोटमा तीन वर्षसम्म सङ्घर्ष गरेको कुश्माले २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीबाट ५ सय मिटर तल जङ्गलभित्रको खाली जग्गा फेला पारेको थियो । ३२ रोपनी जग्गा पालिकाले १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य चार व्यक्तिसँग भाडामा लिएर फोहोर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

उनका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्रसँगको साझेदारीमा पाँच वर्षे सम्झौता गरी फोहोर​को व्यवस्थापन भइरहेको छ । नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहोर सङ्कलन गरी व्यवस्थापन सुरु गरेको छ ।

केही समय गुप्तेश्वर बहुमुखी क्याम्पसको छेवैमा पोखरा–बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहर विसर्जन गर्दा स्थानीय र सरोकारवालाले विरोध गरेपछि नगरले विकल्प खोजेको थियो । त्यसरी फालेको फोहोर सिधैं कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पर्ने गरेको जनाउँदै पुनरावेदन अदालत बागलुङमा रिट निवेदन परेपछि जग्गा भाडामै लिएर व्यवस्थापन गरिँदै आइएको थियो । यसपछि आम्दानीसमेत हुन थालेको नगरपालिकाले जनाएको छ ।



कुश्माले कुहिने फोहोरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ । सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिनेभन्दा नकुहिने फोहोरबाट राम्रो आम्दानी हुने गरेको छ । अहिले सेक्रेटले फोहोर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ ।

व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ । आवश्यक मात्रामा जग्गा नहुँदा व्यवस्थापनमा केही समस्या भएको भुसालले जनाए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार र गाडीको व्यवस्थापन गरेको छ । फोहोर व्यवस्थापन कार्यक्रम सुरु भएपछि कुश्माबजार सफा र चिटिक्क देखिएको छ ।



नगरभित्रका विभिन्न होटल व्यवसाय तथा स–साना उद्योग कलकारखानाबाट निस्किने सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा जिल्लाको फलेवास नगरपालिकालाई समस्या देखिएको छ । अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले प्लाष्टिकजन्य फोहर जलाउने गरेको भए पनि सिसाजन्य फोहोर व्यवस्थापनमा समस्या भएको नगरका प्रवक्ता अच्युत तिवारीले बताए ।

मदिरा तथा सर्वसाधारणले प्रयोग गर्ने औषधिका बोतल व्यवस्थापन सहज नहुँदा नगरभित्र वातावरणीय प्रदूषण बढ्दो छ । फलेवासले गत वर्ष सिसाजन्य फोहर सङ्कलन गरी खाडल खनेर दबाएको जनाएको छ । तर उक्त प्रक्रिया पनि दिगो र भरपर्दो हुने नदेखिएपछि चालू वर्ष उक्त कार्यक्रम सञ्चालन गरेको छैन । पर्वतको जलजला र पैंयु गाउँपालिकाले पनि फोहोर वर्गीकरण गरेर सङ्कलन तथा व्यवस्थापन गर्न थालेका छन् ।

मोदी गाउँपालिकाले फोहोर व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गमा पर्ने पातीचौर बजार, नजिकै रहेको मोदीखोला र पातीखोला दुर्गन्धित बन्दै गएका छन् । फोहर व्यवस्थापन योजना कार्यान्वयनको चरणमा रहेको मोदीका उपाध्यक्ष विमल लामिछानेले बताए । रासस

  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १०:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया