धुमुर्स–सुन्तली फाउण्डेसनलाई एकमुष्ट १२ करोड अनुदान दिएर गौतमबुद्ध क्रिकेट रंगशालाकाे काम अघि बढाइँदै

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट संघ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रंगशाला बन्ने निश्चित भएको बताएकी हुन् । 

प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको प्रमुख दाहाल बताइन् । धुमुर्स–सुन्तली फाउण्डेसनलाई ऋण तिर्नका लागि एकमुष्ट १२ करोड अनुदान दिएर बाँकी निर्माणकार्य अगाडि बढाइने उनले जानकारी दिइन् । निर्माणाधीन उक्त रंगशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन् । पुल्चोक इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्बीच यसबारे निरन्तर छलफल भइरहेको उनकाे भनाइ छ । 

रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेसनले ऋण देखाउँदै निर्माणकार्य बन्द गरेर उक्त रंगशाला महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्रिपरिषद्को बैठकले फाउण्डेसनलाई एकमुष्ट अनुदान दिई संघीय सरकारले थप निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको थियो । 

बागमती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा निर्माणाधीन उक्त रंगशालाको मैदानमा आजदेखि  ‘भरतपुर मेयरकप वागमती प्रदेश अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिता’ सञ्चालन गरिएको हो । 

प्रतियोगिता वैशाख–७ गतेसम्म सञ्चालन हुनेछ । बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले प्रतियोगितामा नेपाल क्रिकेट संघले मान्यता दिएका ६ जिल्लाका टोलीको सहभागिता रहेको जानकारी दिए । 

काठमाडौं, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर, चितवन र नुवाकोट समूह ‘बी' मा रहेका छन् । प्रतियोगिता लिगका आधारमा खेलाइनेछ । दुई समूहबीचका समूह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 



अध्यक्ष बस्न्यातका अनुसार विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई उपहारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै बागमती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।



  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार १७:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया