logo-img

देवेन्द्र पौडेलको माग : बैंकमा जम्मा भएको ५५ खर्ब उद्योगमा परिचालन गरौँ

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेको रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् ।​

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रूग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताएका हुन् । 

‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । खुसीको कुरा हो । ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत ३ पटक प्रस्तुत गर्ने बराबरको बजेट हो,’ पौडेलले भने, ‘त्यो रकम बैंकमा जम्मा भएर बसेको छ । त्यो रकमलाई छिट्टै देशका रूग्ण भएका, अप्ठ्यारोमा परेका उद्योगहरूलाई परिचालन गरी रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्रीले गरेका घोषणाअनुसार अगाडि बढाइयोस् ।’

उनले अप्ठ्यारोमा परेका उद्योगहरूमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे । देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै प्रयोगविहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने पौडेलको भनाइ थियो । 

‘४० लाख खोप प्रयोग भएको भनेर समाचार आएको छ । त्यो खोप प्राविधिक हिसाबले नमिल्ने भएर प्रयोग नभएको हो कि, हाम्रो लापरबाहीको कारणले प्रयोग नभएको हो कि त्यसको बारेमा पनि सम्बन्धित निकायले किन प्रयोग नभएर बेवारिस भएर बसेको हो त्यसको बारेमा छानबिन होस्,’ पौडेलले भने ।
 
विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएको समाचार सार्वजनिक भएको भन्दै सांसद पौडेलले त्यसैगरी अस्पतालमा पनि बिरामीहरूले समयमै सेवा पाउनुपर्ने बताए ।

त्यस्तै, किसानले पनि समयमै मल पाउनुपर्ने भन्दै पौडेलले त्यसको व्यवस्थापन गर्न सरकारसँग माग गरे । 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १४:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया