ओमानविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता

एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा स्पिनर ललितनारायण राजवंशीले ४.३ ओभरमा जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गरे ।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनायो । ओडिआईमा नेपालले कुनै पनि टोलीलाई दिएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।

यसअघि नेपालले ओडिआईमा उच्च स्कोर आइसिसी विश्वकप लिग–२ मा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध बनाएको थियो । अघिल्लो महिना त्रिवि मैदानमा भएको खेलमा पिएनजीविरुद्ध नेपालले २ सय ९७ रन बनाएको थियो । 

ओमानलाई कीर्तिमानी लक्ष्य दिनेक्रममा युवा अलराउन्डर कुशल मल्लले आक्रामक शतकीय पारी खेले । ६४ बलको सामना गरेका उनले १० छक्का र ९ चौकासहित १०८ रन बनाए । कुशलले ५९ बलमा शतक पूरा गरेका थिए । 

योसँगै उनी अब एकदिवसीयमा सर्वाधिक छिटो शतक बनाउने नेपाली ब्याटर बनेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो पहिलो शतक हो । जारी प्रतियोगिताको पहिलो खेलमा कुशलले अर्धशतकीय पारी खेलेका थिए ।   

त्यस्तै, ओमानविरुद्ध अर्का अलराउन्डर सोमपाल कामीले अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ९ चौकाको मद्दतमा अविजित रन बनाए । एकदिवसीयमा सोमपालको यो उच्च स्कोर हो । ओडिआईमा उनको दोस्रो अर्धशतक हो । 



यस्तै, भीम सार्कीले ३३, आरिफ शेखले २९ र कप्तान रोहित पौडेलले २३ रन जोडे । करण केसीले १५ बलमा २ चौका र १ छक्कासहित अविजित २९ रनको योगदान दिए । ओमानका लागि अयान खानले दुई, जतिन्दर सिंह, अकिब इलियास, जीशान मक्सूद, कलिमुल्लाह बिलाल खान र फैज बटले एक/एक विकेट लिए ।  



  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार १३:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया