logo-img

स्ववियु निर्वाचनले पूर्णता नपाउनुमा को जिम्मेवार ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्ववियु निर्वाचनका लागि दिएको एक महिनाको अवधि यही वैशाख ५ गते सकियो । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)ले पनि सोही मितिमा निर्वाचन तोकेको थियो । दुवै विश्वविद्यालयमा निर्वाचनको मिति समाप्त भएसँगै स्ववियु निर्वाचन समिति पनि स्वतः खारेज भएको छ । 

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भए पनि कतिपय क्याम्पसमा भने निर्वाचन सम्पन्न नभई निर्वाचन समितिको म्याद सकिएको छ । रोकिएका क्याम्पसहरुमा स्ववियु निर्वाचनले पूर्णता पाउन सकेन ।

एक महिनाको समय दिएर सबै क्याम्पसहरूलाई स्ववियु निर्वाचन गराउन त्रिविले निर्देशन दिएपनि रत्नराज्यलक्ष्मी, पशुपति बहुमखी क्याम्पस, नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र कलेजजस्ता धेरै विद्यार्थी भएका क्याम्पसहरूमा नै स्ववियु निर्वाचन हुन सकेन । त्यसैगरी नेसंविअन्तर्गतका अधिकांश क्याम्पसमा निर्वाचन हुँदा राजधानीमा रहेको सबैभन्दा ठूलो आंगिक क्याम्पस वाल्मीकिमा स्ववियु निर्वाचन हुन सकेन ।
 
विद्यार्थी संगठहरूबीच विवादका कारण निर्वाचनले पूर्णता नपाएको विद्यार्थी नेताहरू स्विकार्छन् । आफू जित्ने क्याम्पसमा निर्वाचन गराउन खोज्ने, तर हार्ने सम्भावना देखिएका क्याम्पसमा विद्यार्थी संगठनले बेवास्ता गर्ने गरेका कारण स्ववियु निर्वाचनले पूर्णता नपाएको हो । 

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५० वटामा स्ववियु निर्वाचन सम्पन्न भएको छ भने अझै १२ वटा क्याम्पसमा निर्वाचन भएको छैन । स्ववियु निर्वाचनका लागि छुट्याइएको समय सकिएकाले अब निर्वाचन हुन बाँकी क्याम्पसमा त्रिविले चाहेको खण्डमा मात्र निर्वाचन हुने विद्यार्थी नेताहरूको भनाइ छ ।

त्रिविले गत चैत ५ देखि वैशाख ५ गतेसम्म स्ववियु निर्वाचनको समय तोेकेको थियो । उक्त अवधिमा अधिकांश क्याम्पसमा निर्वाचन भए पनि नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य, पशुपति बहुमुखी क्याम्पस, पृथ्वीनारायण क्याम्पसलगायत त्रिविका १२ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

त्रिविले विद्यार्थी संगठनहरूलाई आपसी समझदारी गरेर स्ववियु निर्वाचनमा आउन आग्रह गरे पनि संगठनबीच कुराकानी नमिल्दा केही क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको नेपाल विद्यार्थी संघ(नेविसंघ) त्रिचन्द्र कलेजका अध्यक्ष शान्त सिवाकोटीले बताए । सबैजसो क्याम्पसमा आपसी समझदारीमा स्ववियु निर्वाचन गर्ने भनिए पनि भागबन्डालगायत विषयमा कुरा नमिल्दा निर्वाचनले पूर्णता नपाएको उनले बताए ।



उनले भने, ‘सकेसम्म समझदारीमै स्ववियु चुनाव गरौँ भन्ने कुरा भएको थियो । त्यसको लागि छलफलसमेत भयो तर कुनै क्याम्पसमा भर्नाका कुरा मिलेनन् त कुनैमा भागबन्डाका कुरा मिलेनन् ।’

त्यस्तै संगठनहरूले आफूले जित्ने क्याम्पसहरूमा चुनाव गराउन खोज्ने, तर हार्ने ठाउँमा विभिन्न बहाना बनाएर पन्छिन खोज्ने जस्ता क्रियाकलापका कारण पनि सबै क्याम्पसमा निर्वाचन हुन नसकेको उनले बताए ।



उनले भने, ‘रत्नराज्यलक्ष्मी क्याम्पस(आरआर)मा चुनाव गरे त्रिचन्द्रमा नगर्ने, त्रिचन्द्रमा नगरे आरआरमा गर्ने जस्तो कुरा अनेरास्ववियुले गर्न थाल्यो । आफूले जित्ने कलेज आरआरमा चुनाव गराउने, तर आफूले हार्ने त्रिचन्द्रमा नगराउने रणनीति अनेरास्ववियुको देखियो, नेपाल कमर्श क्याम्पस, पशुपति बहुमुखी क्याम्पसमा पनि त्यही देखियो ।’

धेरै कलेजमा नेविसंघले जित्ने र थोरैमा अनेरास्ववियुले जित्ने देखिएका कारण अनेरास्वियुले निर्वाचनमा चासो नदिएको उनको आरोप छ । निर्वाचन हुन बाँकी क्याम्पसहरूमा त्रिविले चाहेको खण्डमा मात्र चुनाव हुन सक्ने उनले बताए ।

उनले भने, ‘वैशाख ५ पछि निर्वाचन समिति स्वतः खारेज भएकाले अब त्रिविले नयाँ विद्यार्थी भर्ना हुनुअगाडि नै स्ववियु निर्वाचनको नयाँ तालिका निकालेको खण्डमा मात्र निर्वाचन सम्भव छ ।’

सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन नसक्नु त्रिवि र क्याम्पस प्रशासनको कमजोरी नभएको उनको जिकिर छ ।

यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भने विश्वविद्यालयको कमजोरीका कारण सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको बताए । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने जिम्मा पाएको नेतृत्वले नै स्ववियु निर्वाचनलाई राजनीतिक दलको निर्वाचन जस्तो बनाएका कारण सबै ठाउँमा निर्वाचन हुन नसकेको उनको भनाइ छ ।

कुनै अमुक पार्टीको निर्वाचनजस्तो बनाउन खोज्ने प्राध्यापक, कर्मचारीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । एमाले निकट विद्यार्थी संगठन निर्वाचनबाट भागेका कारण निर्वाचन हुन नसकेको उनको आरोप छ ।

स्ववियु निर्वाचन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय विभिन्न राजनीतिक दलसँग निकट रहेर आफ्नो जिम्मेवारीबाट पन्छिने काम गरेको उनको भनाइ छ । त्रिविमा विभिन्न राजनीतिक दल र दल निकट गुटहरूबाट नियुक्ति लिएका व्यक्तिहरूका कारण स्ववियु निर्वाचनमा समस्या देखिएको उनले बताए । 

अन्य विश्वविद्यालयमा निर्वाचन गराउन जसरी राजनीतिक दलका नेताहरू, सरकार, सम्बन्धित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीहरू जिम्मेवार ढंगले लाग्छन् त्यसरी नलागेका कारण स्ववियु निर्वाचनले पूर्णता नपाएको उनले बताए । निर्वाचनको जिम्मेवारी लिएर बसेका पदाधिकारी र नेतृत्व तह सुध्रिएर स्ववियु निर्वाचन गराउन चाहेको खण्डमा अझै चुनाव हुने सम्भावना रहेको पराजुलीको भनाइ छ ।

यसैगरी नेकपा एमालेनिकट अनेरास्ववियु आरआर क्याम्पस अध्यक्ष लोकेश खड्काले विद्यार्थी संगठनहरूको विवादकै कारण सबै क्याम्पसमा निर्वाचन हुन नसकेको बताए । चुनाव गराउन अदालतबाट परमादेश ल्याएर आउँदा पनि नेविसंघ, पुलिस प्रशासन र राज्यसत्ता नै एक ठाउँमा उभिएर चुनाव रोक्न सफल भएको उनको आरोप छ । स्ववियु चुनाव नहुनुमा राज्यसत्ता दोषी रहेको उनको आरोप छ । 

उनले भने, ‘आरआर क्याम्पसमा स्ववियु निर्वाचन नहुनुमा सत्ताधारी विद्यार्थी संगठनका र राज्य पक्षको दोष हो । अन्य क्याम्पसमा पनि हार्ने डरले विद्यार्थी संगठनहरू चुनावमा आउनु सकेनन् ।’ 

अनेरास्ववियु निर्वाचन गराउने पक्षमा रहे पनि सत्ताधारी विद्यार्थी संगठन हाबी हुँदा केही क्याम्पसमा निर्वाचन नभएको उनले बताए ।

अब दुई वर्षपछि मात्र निर्वाचन हुन्छ : त्रिवि

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले निर्वाचनका लागि निर्धारित समय सकिएकाले अबको दुई वर्षपछि मात्र स्ववियु निर्वाचन हुने बताए । उनले भने, ‘यी संस्था नभएर पनि विश्वविद्यालय चलेको थियो । भएर पनि राम्रै भयो, निर्वाचनका लागि एक महिना समयमा छुट्याएको थियो । यो अवधिमा सबैका ड्रामा तपाईंहरुले पनि देखिहाल्नु भो । अब फेरि समय तोकेर पनि समयमै निर्वाचन हुन्छ भन्ने छैन ।’ 

स्ववियु निर्वाचन गराउन विश्वविद्यालयले आफ्नोतर्फबाट कुनै कसर नछाडेको उनको भनाइ छ । स्ववियु निर्वाचन कारण एक महिना त्रिविको कामकाज तथा परीक्षाहरू पछाडि धकेलिएकाले अब स्ववियुको कुरा गर्न नमिल्ने उनले बताए । उनले भने, ‘स्ववियुले एक/डेढ महिना परीक्षाहरू सरेका छन् । यसले लाखौं विद्यार्थीको भविष्यलाई पनि असर गर्ला नि ? अब स्ववियुको कुरा गर्नै मिल्दैन ।’

विश्वविद्यालयले आफ्नो तालिकाअनुसार काम गर्नुपर्ने भएका कारण एउटै काममा अल्झिरहन सक्ने अवस्था नरहेको उनको भनाइ छ । अधिकारी स्ववियु निर्वाचन समितिका सदस्यसमेत हुन् । निर्वाचन अवधि समाप्त भएका कारण उक्त समिति स्वतः खारेज भइसकेको छ ।

  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार १९:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया