विपद व्यवस्थापनका लागि यस्ताे छ प्रमुख राजनीतिक दलकाे सुझाब

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेसहितका नेताहरुले बाढी, पहिरो र डुबान व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित विपद व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले वर्षा सुरु हुनै लागेकाले सरकारले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाउन ढिलाइ गर्न नहुने बताए । 

एमालेका प्रमुख सचेत गिरीले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बन्धित सबै निकायले ध्यान दिनुपर्ने बताए । अबको एक, डेढ महिनापछि बाढी, पहिरो र डुबानको समस्या आउने भएकाले त्यसलाई न्यूनीकरण गर्न सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो । 

प्रमुख सचेतक गिरीले विपद व्यवस्थापनका लागि बनाइएका सरकारी निकायमा स्रोत र साधनको समेत अभाव भएको उल्लेख गर्दै त्यसतर्फ पनि लाग्न सरकारलाई सचेत गराए । ‘बाढी, पहिरो र डुबानबाट हुने क्षति अबको एक, डेढ महिनापछिबाट दिनानुदिन त्यसका समाचार सुन्नुपर्ने हुन्छ, उनले भने, 'यसतर्फ सम्बन्धित निकायलाई ध्यान दिनु पर्यो ।' 

विपद जोखिम न्यूनीकरणका लागि खोलिएका कार्यालय र कर्मचारी स्रोत र साधनको अभावमा त्यहाँ कामै गर्न नसक्ने अवस्थामा रहेकाे उल्लेख गर्दै उनले भने, 'त्यस्ता संस्थाहरुलाई कसरी सबलीकरण गर्ने, उनीहरुलाई कसरी स्रोत, साधनले युक्त बनाउने, जिम्मेवार बनाउने ? यो पाटोबाट सोच्नुपर्यो नि !’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले विपद् व्यवस्थापनका लागि फेरी रेस्क्यु गर्ने, पुनर्वासको व्यवस्था गर्नेलगायत समय आएको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । विपद व्यवस्थापनको पूर्वतयारीका लागि साधन, स्रोतको नीतिसहितको तयारी गर्न पनि उनले सरकारसँग आग्रह गरे । नेता विश्वकर्माले भने, ‘विपद व्यवस्थापनका लागि योजनाबद्ध ढंगले अघि बढ्न सकिएको छैन । वर्षा लागेको छ, फेरि पनि हामीले रेस्क्यु गर्नुपर्ने समय आएको छ ।' सबै पूर्वतयारीका लागि आवश्यक साधन, स्रोतको नीतिसहित तयारी गर्न उनले सरकारलाई सुझाव दिए । 



ठूलो राजनीतिक दलहरुले पनि विपद् व्यवस्थापनका लागि अनिवार्य रुपमा छुट्टै विभागको व्यवस्था गर्नुपर्नेमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले जोड दिए । राजनीतिक दलसम्बन्धी ऐनमा सो व्यवस्था रहेकाले ठूला राजनीतिक दलहरुले विभाग बनाई विपद न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । 

‘ठूला र मेनस्ट्रिम पोलिटिक्सका हर्ताकर्तामा रुपमा देखिएका सबै राजनीतिक दलहरुले अनिवार्य रुपमा विपद व्यवस्थापन विभाग बनाउने, आफ्ना सम्पूर्ण कार्यकर्तालाई विपद व्यवस्थापनसम्बन्धी अभिमुखीकरण दिएर आमजनचेतना चलाउनुपर्दछ,'उपमहासचिव तुलाधरले भने, 'त्यसो गर्न सकियो भने सबै प्रकारका विपद जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ । राजनीतिक दलसम्बन्धी ऐनमा पनि त्यो व्यवस्था गरिएको छ । त्यसको पालना नगर्ने दललाई निर्वाचन आयोगले खारेज गर्न पनि सक्छ ।’



उपमहासचिव तुलाधरले विपद जोखिम न्यूनिकरणका लागि आवश्यक सूचना प्रविधिको व्यवस्था मिलाउन पनि सरकारलाई दबाब दिए । 

सोमबार काठमाडौंमा आयोजित ‘विपद जोखिम व्यवस्थापनः नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उनीहरूले सो कुरा बताएका हुन् । 

राजनीतिशास्त्र अध्ययन संघ, गृह मन्त्रालय र ललितपुर महानगरपालिकाको आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको हो । 

  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार १७:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया