logo-img

चलचित्र 'हल्कारा'को गीत रिलिज (भिडियाे)
पत्रलेखन प्रतियोगितामा एक लाख नगद पुरस्कार

चलचित्र 'हल्कारा'को गायक प्रकाश सपुत र गायिका देवी घर्तीको आवाजमा रहेको गीत सार्वजनिक भएको छ। 'जीवन कठै बरी' बोलको गीतको भिडियो केही संवादसमेत राखिएको छ। गीत तथा संवादले मार्मिक रुपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ।

यस गीतमा प्रकाश सपुतले नै शब्द तथा संगीत दिएका छन्। पछिल्लो समय 'सकम्बरी' गीतबाट चर्चामा रहेका सपुतको चलचित्र 'हल्कारा'मा समावेश रहेको गीत पनि उत्तिकै समयसान्दर्भिक रहेको छ।

गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । यो चलचित्र पूर्णरुपमा ‘कमर्सियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए । 

चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ । चलचित्र वैशाख २९ गते रिलिज हुने तयारीमा छ । 

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।

यो चलचित्रले सबैभन्दा पुराना फेस्टिभलमध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्टिभलमा  महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । 



साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

पत्रलेखन प्रतियोगितामा उत्कृष्ट ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार



हाल चलचित्र 'हल्कारा'ले चिठ्ठी लेखन प्रतियोगिता समेत आयोजना गरिरहेको छ । यस प्रतियोगितामा सहभागी हुन आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफुले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रथम पुरस्कार ५०,०००।-, द्वितीय पुरस्कार ३०,०००।- र तृतीय पुरस्कार २०,०००।- तोकिएको छ । पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ। 

प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा 'नेपाली चलचित्र हल्कारा परिवार' लेखि ठेगाना काठमाडौं, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनुपर्नेछ । चिठ्ठीको अन्तिममा यूट्युबमा रहेको चलचित्र 'हल्कारा'को ट्रेलर हेरी आफूलाई बुझेको कथा लेख्नुपर्नेछ। 

चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ ।

पत्र पठाउँदा २०८० वैशाख १० गतेदेखि चलचित्र 'हल्कारा' रिलिजको मिति वैशाख २९ गते भन्दा ९ दिनअगाडि वैशाख २० गतेसम्म पठाइसकेको र वैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भइसकेको हुनुपर्नेछ । 'हल्कारा' रिलिजको मिति वैशाख २९ गतेभन्दा २ दिन अगाडी वैशाख २७ गते पुरस्कार घोषणा हुनेछ ।

  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार १६:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया