logo-img

लयमा फर्कियो हेलम्बुको पर्यटन, यी हुन् घुम्नलायक ठाउँ
तस्बिर : हेलम्बु गाउँपालिका

२०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनः निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । 

बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गिन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । 

हेलम्बु आएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित भएका छन् । काठमाडौं उपत्यकाको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने क्रममा हेलम्बु आएका उनी आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग परे ।  

भूकम्पका कारण गुम्बाको सहर भनेर चिनिने हेलम्बुको चहलपहल ह्वात्तै घटेको थियो । पुनःनिर्माणका क्रममा आएका विविध समस्या यहाँका स्थानीयले समाधान गरेपछि अहिले माने र गुम्बा ठडिएका छन् । हेलम्बुभित्रको पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको शाक्यले सुनाए ।  

‘गाउँका मान्छेमा पाप हुँदैन भन्थे, यहाँ आएर थाहा भयो,’ उनले भने, ‘यहाँको सुन्दरताको वर्णन गरी साध्य छैन ।’ यहाँको परिवेश, संस्कृति नेपालकै नमूना भएको उनको ठम्याइ छ । भूकम्प र कोरोनाले थलिएका पूर्वाधार, धार्मिकस्थलको पुनःनिर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तङ्ग्रिन थालेको छ । 



क्षतिग्रस्त बस्ती र धार्मिकस्थल विस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको संख्या बढेको हो । हेलम्बु आएका रवीन महर्जनलाई पनि एकैनासका ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर देख्दा लोभिए । ‘यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो । स्याउ फल्छ भन्ने सुनेको मात्रै थिएँ, यहाँ प्रत्यक्षरूपमा देख्न पाइयोे,’ उनले भने । महर्जनले यहाँ गरिएको किवीखेती लोभलाग्दो रहेको बताए । 

अझै समथर भू–भागमा मिलेर बसेको तार्केघ्याङ र मेलम्चीघ्याङ बस्ती निकै सुन्दर रहेको महर्जनले बताए । ‘हामीलाई एउटै बस्तीमा रङ्गीन ध्वजापताका र गुम्बाले निकै आकर्षित गरेको छ,’ उनले भने । 



शाक्य र महर्जन मात्रै होइन, भूकम्पपछिको पुनःनिर्माणले देखिएको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन् । गुम्बाको पुनःनिर्माणले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । 

वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायाङ्ग्री, मेलम्ची घ्याङलगायत स्थलमा पुग्ने गरेको तथ्यांक छ । अहिले पूर्वाधार र धार्मिक संरचना निर्माण भएकै कारण दैनिक ४० देखि ५० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

पर्यटकीय पदमार्गमा चहलपहल बढेको छ । आन्तरिक मात्र होइन यहाँ बाह्य पर्यटक पनि दिनहुँ आउन थालेका छन् । उनीहरूले अधिकांश माथिल्लो क्षेत्र घुम्न जाने गरेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘पर्यटकीय गाउँ हेलम्बुमा गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आरामदायी बास बस्ने रिसोर्टको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका छन्,’ उनले भने ।

ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन् । समुद्री सतहबाट ३ हजार ७ सय ७० मिटरमा पर्ने आमायाङ्ग्री पर्यटकको पहिलो रोजाइमा पर्छ । पदयात्रा रुचाउने प्रायः जसो आमायाङ्ग्री पुग्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । यो ठाउँमा पुग्न सवारीसाधन पुग्ने स्थानबाट झन्डै चार घन्टा उकालो लाग्नुपर्छ ।

किउलको सेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकका लागि लक्ष्य गरेर बनाइएको होटल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा ल्याइसकिएको छ । दुई दर्जन सडक, बिजुली, खानेपानीलगायत सबै सुविधा एकैसाथ गरिएपछि पर्यटकको रोजाइमा हेलम्बु परेको शेर्पा बताउँछन् ।  

हेलम्बुबाट गोसाइँकुण्ड पदमार्ग हुँदै पुग्न सकिन्छ । सिमसिसाङ हिमाल, गन्जलापास–लाङटाङ क्षेत्र पुग्ने दुईदिने दुईवटा पदमार्ग बन्दै छ । त्यसैगरी सुन्दरीजल–कुन्टुङसाङ, घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, सेर्माथान–पाल्चोक भगवती, निन्देश्वरी महाकाल–आमायाङ्ग्रीजस्ता दर्जन पदमार्ग मर्मतको कामसमेत भइरहेको छ । 

ह्योल्मो जातिको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले हेलम्बु आउनेको संख्या बढेको छ । पर्यटक आउने क्रम बढिरहेकाले किउल, हेलम्बु भेगका होटल, रिसोर्ट भरिन थालेको होटल सञ्चालक रोशनी लामा बताउँछिन् ।  

‘भूकम्प र कोरोनापछि साम्य बनेको पर्यटन फेरि उठ्न थाल्यो, पर्यटक आउन थालेपछि यहाँका रिसोर्ट ‘बुकिङ’ गर्ने क्रम बढ्न थालेको छ,’ उनले भनिन् । हेलम्बुको सुन्दरताबारे जानकारी पाएपछि यहाँ आइपुगेका पर्यटक बास बस्न तिम्बु झर्ने गरेको उनले बताइन् । 

पर्यटकीय बस्तीका होमस्टे र कला संस्कृतिले पर्यटक लोभिँदै हेलम्बु आउने गरेका लामाको भनाइ छ । ‘धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक आकर्षित हुँदै गएका छन्,’ उनले भनिन् । अधिकांश पर्यटक यहाँ पदयात्राका लागि आउने गरेका छन् । रासस 

  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार १०:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया