‘मेचीपारिको नेपाल’ का विद्यार्थीको समस्या : गाउँको विद्यालय बन्द, नदीको त्रासका बाबजुद भारत पढ्न जान्छन्

सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी) को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावावस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य भएकी हुन् ।

सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर–१५ को ग्वालावस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन् ।

सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतिपाती र चिया मजदुरीमा लागेका छन् । ग्वालावस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा कक्षा ३ उत्तीर्ण गरेका उनले मेची नदीको बाढीमा कुन बेला बगिएला भन्ने डरले पढाइ नै छाडिदिएको सुनाए ।

डेढ सय जनसंख्या भएको ग्वालावस्ती र सिसौडाँगी मेची नदी पारीको नेपाली भू–भाग हो । जहाँ विकासका कुनै पूर्वाधार पुर्‍याउन सकिएको छैन । स्थानीयवासीले दशकौँदेखि सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा र कृषिमा अनुदान माग गर्दै आएका छन् । तर, उनीहरूको आवाजको सुनुवाइ भएको छैन । 

ग्वालावस्तीमा नेपाल चिनाउने एउटा निशानीको रूपमा वि.सं २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो । कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ । विद्यालयको दुई ब्लकमध्ये पहिलो ब्लकको एउटा कोठालाई कार्यालय बनाइएको छ । अरू तीन  कक्षा कोठा हुन् । चारवटै कोठा बन्द गरेर ताला लगाइएको छ ।

‘शिक्षक आउँदैनन्, अनि विद्यार्थी पनि आउन छाडे’, विद्यालयका लागि पाँच कट्ठा जग्गादान गरेको दाता परिवारका सदस्य कुमार राजवंशीले भने, ‘नियमित विद्यालयमा आउनुहोस् भनेर धेरैपटक शिक्षकलाई सम्झायौँ । तर, उहाँहरू मन लागे आउने र नलागे नआउने गर्नुहुन्थ्यो । अहिले त विद्यालय नै बन्द भयो ।’



उनका अनुसार सो विद्यालयमा विगतदेखि बाल कक्षा, कक्षा १ र कक्षा २ को मात्र पढाइ हुँदै आएको थियो । पढाइ नियमित नभएपछि पढिरहेका विद्यार्थीले पनि विद्यालय छाडे । जसमध्ये कोही भारतीय विद्यालयतिर पढ्न गइरहेका छन् भने अधिकांश खेतिपातीतिर लागेको राजवंशीले बताए ।

विद्यालय सञ्चालनको समयमा हरेक दिन विद्यार्थीले राष्ट्र गान गुन्जाउँथे । अहिले बन्द रहेको कार्यालय कोठामा बाल कक्षाका विद्यार्थीलाई पकाएर खुवाउने एउटा थोत्रो ग्यास चुलो, प्लास्टिकका भाँडाकुँडा र एउटा स्टिलको दराज माकुराको जालोभित्र छोपिएको छ । कक्षा कोठामा डेस्क र बेन्च एउटा पनि छैनन् ।



मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालले विद्यार्थी आउन छाडेपछि मेची प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको स्वीकार गरे । उनले सेवासुविधा धेरै पाइन्छ भन्दै विद्यार्थी भारतीय स्कुलमा जाने गरेको बताए ।  

गत वर्षको अभिलेखअनुसार सो विद्यालयमा १६ विद्यार्थी पढ्थे । पढाउने एकजना शिक्षक भवराज जोशी काज सरुवा लिएर कालिका आधारभूत विद्यालयमा गए । अर्का बाल शिक्षक रेवती राजवंशी शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेर आदर्श माध्यमिक विद्यालयमा गइन् । शिक्षा शाखाले विद्यालय नेतृत्वविहीन नहोस् भनेर मेची वारीको कालिका आधारभूत विद्यालयका शिक्षक युवराज ढकाललाई मेची प्राथमिक विद्यालयको प्रधानाध्यापक तोकेको छ । कालिकामा नियमित अध्यापन गराइरहेका ढकाल मेची प्राथमिक विद्यालय जाँदैनन् । 

शिक्षक एकपछि अर्को गर्दै बाहिरिएपछि विद्यालयको सम्पूर्ण रेखदेख कर्मचारी राजेश राजवंशीले गर्दै आएका थिए । उनी पनि मेचीवारी भिन्डीबस्तीमा घर भएकाले मेची नदी तरेर नियमित विद्यालय नजाने गरेको स्थानीयको भनाइ छ ।

वि.सं २०७० तिर मेची प्राथमिक विद्यालयमा ५० विद्यार्थीले पढ्ने गरेको र विकासका कुनै पूर्वाधार नबनेपछि स्थानीयले गाउँ नै छाडेर बसाई हिँड्दा विद्यार्थी घटेको विद्यालयका कर्मचारी राजेश राजवंशीले बताए । भारतीय सीमा सुरक्षा वल (एसएसबी) को दस्ता विद्यालयमै आएर ‘यो स्कुल नेपालको कि भारतको ?’ भनेर सोध्ने गरेको पनि बताए ।  

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति दाहालले ग्वालावस्ती र सिसौडाँगी नेपालकै भू–भाग हो भनेर चिनाउनसमेत त्यहाँको एक मात्र विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरे । बरु विद्यालयलाई कसरी सुविधासम्पन्न बनाउन र विद्यार्थीलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्नेमा उनको जोड छ । रासस 

  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार ८:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया