logo-img

जथाभाबी एन्टिबायोटिक प्रयोग नगराैँ : डा. कटवाल [अन्तर्वार्ता]

पछिल्लो केही समययता कोरोना संक्रमणका साथै वायु प्रदूषण बढेको छ । मौसम परिवर्तनसँगै कोरोना र प्रदूषण बढेपछि चिकित्सकले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् । मौसम परिवर्तनसँगै अस्पतालमा अहिले नाक, कान र घाँटीका बिरामी बढेका छन् । पछिल्लो समय सामान्य बिरामी हुने बित्तिकै एन्टिबायोटिक प्रयोग गर्नेको संख्या पनि बढिरहेको छ चिकित्सकको सल्लाहअनुसार मात्र एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय जथाभाबी एन्टिबायोटिक प्रयोग गरिएको पाइन्छ । यसैबीच, आज अल्का अस्पतालमा कार्यरत नाक, कान घाँटी रोग विशेषज्ञ डा. शाश्वत कटवालसँग एन्टिबायोटिक र विभिन्न स्वास्थ्य समस्यामा केन्द्रित रहेर कुराकानी गरेका छौँ :
 
पछिल्लो समय नाक, कान र घाँटीका बिरामी बढेको देखिएको छ, किन होला ?

हाम्रो जुन नर्मल म्युकोजा भन्ने लाइनिङ हुन्छ, नाकको त्यो वेदर चेन्ज (मौसम परिवर्तन) ले गर्दा ड्राइ (सुख्खा) हुन्छ । त्यही भएर संक्रमित हुने सम्भावना बढी हुन्छ । त्यसैले जहिले पनि मौसम परिवर्तन हुँदा संक्रमण हुने सम्भवाना बढी हुने हो । धेरैजसो राइनो भाइरस भन्छौँ हामीले । यो चाहिँ जाडो महिनामा संक्रमित हुने सम्भावना धेरै हुन्छ । रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो । हाम्रो नर्मल म्युकोजा जुन हुन्छ नाकको त्यसले राम्रोसँग फंग्सन गर्न नपाएर, सुक्खा भएर राम्रोसँग काम गर्न नसकेर संक्रमण बढिरहेको हुन्छ । 

नाक, कान र घाँटी फरक काम गर्छन् । तर, कसरी अन्तरसम्बन्धित छन् ?  

रुघा लागिराख्यो भने र नाक र कान बीचको (पाइप) नशा बन्द भयो भने कानमा इन्फेक्सन देखिने, वा घाँटीमा इन्फेक्सन देखिने भयो भने त्यही नाक र कानको बीचको (पाइप) नसा जुन इन्टरकनेक्टेड छ, त्यसले गर्दा इन्फेक्सन एक अर्कामा जाने भएकाले गर्दा नाक, कान, घाँटीसँगै जेडिएर आउँछ । 

कुनै बेला पनि नाक, कान र घाँटीको समस्या आइरहेको नै हुन्छ । तर, हामीले त्यसको उपचार घरबाट नै खोजिरहेका हुन्छौं, यो विषयमा तपाईँको धारणा के छ ? 

धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्यास्टिकले गर्दा धेरै फरक पार्छ । हाम्रो समस्या के छ भने नाक अलि दुख्यो भने पिनास भयो, अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौँ र एन्टिबायोटिक खाइहाल्छौँ । धेरैजसो समयमा भने इन्फेक्सन भएको हुँदैन । प्रायः हामीले एक्स्ट्रिम अफ टेम्पेचर फुडहरू नखाने हो भने पनि धेरै फरक पर्छ । ओरलाइजिङ मेन्टेन गरेको खण्डमा पनि धेरै फरक पर्छ । हामी एकैपटक एन्टिबायोटिकमा जम्प गर्नुपर्ने हुँदैन । हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन । पहिला घरायसी उपचार नै गर्ने हो । त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन, तर एक/दुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ । 



नाका, कान र घाँटीका समस्या हुँदा कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?

नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो । हाम्रो अरू ठाउँमा काटिएको जस्तै हो । तर, हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौं, त्यसपछि समस्या धेरै हुने हो । त्यसले हामीलाई प्रेसर बढाउँछ । रगत पनि बढी बग्छ । हामीले नआत्तिकन बस्यो भने नाक पिन्च गरेर बस्ने हो भने रोकिन्छ । त्यसपछि हामीले खोज तलास गर्नुपर्छ, की अरू रोगले पो नाकबाट रगत आएको हो की भनेर ? ९० प्रतिशत जति केसहरूमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो । हामीले घाँटी दुख्ने बित्तिकै एजिथ्रोभाइसिन ४/५ दिनसम्म चलाइदिन्छौँ । २१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु । आफ्नै हिसाबले । ठीक भए पनि नभए पनि उहाँले खाइरहनुभएको थियो । ठीक नभएकाले लगातार २१ दिन खानुभएको थियो । हामीले यदि सहन गर्नसक्ने क्षमताभन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो । नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ । 



प्रदूषणको क्रम बढिरहेको छ, सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने ?

हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ । त्यसैले जब हामी कार्यालयबाट घर र बाहिर निस्किएपछि घर जान्छौँ, पहिला नाक सफा गर्ने पानीले, त्यसपछि कुल्ला गर्ने, त्यसपछि मात्रै हाम्रा दिनचर्या कामहरू सुरु गर्नुपर्ने हुन्छ । त्यसले पनि संक्रमित हुनबाट बचिन्छ । हाम्रोमा एन्टिबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ । हामी साधारण कुरामा पनि एन्टिबायोटिक खान्छौँ, त्यो ठूलो गल्ती हो । 

  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार ११:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया