logo-img

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको शपथ आज, सानो आकारको मन्त्रिमण्डल गठनको तयारी

लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । बिहीबार नियुक्त भएका लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी र गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शपथ लिन लागेका हुन् । 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहान साढे ११ बजे र गण्डकीका मुख्यमन्त्री भण्डारीले दिउँसो साढे १२ बजे शपथ लिने कार्यक्रम रहेको बताइएको छ । दुवै मुख्यमन्त्रीले आज शपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 

साढे ३ महिनामै एमाले नेतृत्वको सरकार ढलेपछि एकैदिन कांग्रेसले दुई प्रदेशको नेतृत्वको अवसर प्राप्त गरेको हो । लुम्बिनी कांग्रेस संसदीय दलका नेता चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।



चौधरीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) सहित आठ दल र स्वतन्त्र सांसदको समर्थन रहेको छ । 

गत २७ पुसमा माओवादी केन्द्रसहितका दलको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका एमालेका लीला गिरी राष्ट्रपतिको निर्वाचनमा केन्द्रीय समीकरण परिवर्तनसँगै सत्ता साझेदार दलहरूले १२ चैतमा समर्थन फिर्ता लिएपछि अल्पमतमा परे ।  विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो  

लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका चार/चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एकजना सदस्य रहेका छन् ।



त्यस्तै, गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका पाण्डेलाई कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

विश्वासको मत गुमाउँदै नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि त्यहाँ नयाँ गठबन्धन सरकार बनेको हो ।          



  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार ८:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया