logo-img

टिपरले ठक्कर दिँदा धनुषामा बालकको मृत्यु, एक बालिका गम्भीर घाइते

धनुषामा ग्राभेल लोड रहेको तीव्र गतिको टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन् ।
 
जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१२ रघुनाथपुर सिर्काटोलस्थित पोखरी नजिक प्रदेश–२–०३–००१ क। १६२१ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँ बस्ने धीरेन्द्रकुमार दनुवारका सात वर्षीय छोरा रियान्स कुमार दनुवारको मृत्यु भएको हो । 

टिपरको ठक्करबाट सोही ठाउँ बस्ने वीरेन्द्र दनुवारकी पाँच वर्षीया छोरी राधीकुमारी दनुवार गम्भीर घाइते भएकी छन् । उनको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । 

सोमबार दिउँसो करिब साढे १ बजेको समयमा विद्यालयमा छुट्टि भएपछि घर फर्किरहेका दुवैजनालाई तीव्र गतिमा रहेको सो टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
 
बरमझियाबाट रघुनाथपुरतर्फ जाँदै गरेको उक्त टिपर अनियन्त्रित भई दुवै बालबालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
 
घटनास्थलमा दुई सयको संख्यामा उपस्थित स्थानीबासीले बाटो अवरुद्ध गरी चक्काजाम गरेका थिए । सोही क्रममा स्थानीय र प्रहरीबीच केही चर्काचर्कीसमेत भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायरसमेत गरेको थियो । 



स्थानीयले बोतलमा पेट्रोल राखी प्रहरीमाथि प्रहार गरेकोले स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाई फायर गर्नुपरेको डिएसपी गौतमले जानकारी दिए ।
 
ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार १८:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया