logo-img

कञ्चनपुरमा औलो संक्रमणको जोखिम

भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरू फर्किँदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।

‘सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ,  कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्’, स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन् ।’ आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेकोका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन् । 

“वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ’, उनले भने, ‘औलो निवारण गर्नका लागि कीटनाशक झूल वितरण र विषादी छर्किंदैछौँ ।’

सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आव २०७७/७८ मा १६ स्थानीय र ३१ आयातित गरेर ४७ तथा आव २०७८/७९ मा छ स्थानीय र ३० आयातित गरेर ३६ जनामा औलो सङ्क्रमण देखिएको थियो । 

महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा भेटिने औलोका अधिकांश बिरामी भारतबाट फर्किएका हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टबताउँछन् । ‘भारतबाट काम गरेर फर्किनेहरुमा औलो रोगको सङ्क्रमण बढी छ’, उनी भन्छन्, ‘अस्पतालमा परीक्षण गर्दा त्यस्ता मानिसमा औलो सङ्क्रमण देखिएका छन् ।’

कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर औलोले बढी प्रभावित छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष सबैभन्दा बढी बेदकोटमा छ, भीमदत्तमा पाँच, कृष्णपुरमा चार, बेलौरी र दोधारा चाँदनीमा दुई, शुक्लाफाँटा र बेलडाँडीमा एक/एकजना औलाका बिरामी फेला परेका छन् । 



कीटनाशक झूल र विषादीको माग बढी भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको जनस्वास्थ्य अधिकृत पन्तले बताए । ‘प्राथमिकता निर्धारण गरेर कीटनाशक झूल र विषादी छर्किरहेका छौँ’, उनले भने, ‘माग बढी भएकाले व्यवस्थापन गर्न गाह्रो छ ।’ 



  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार १५:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया