बझाङको साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सातजना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत यार्सागुम्बा सङ्कलन नै हो ।
दुई वृद्धावस्था उमेरका बाहेक पाँचैजना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन् । यसबाट तामाङको परिवारले ५–६ लाख रुपैयाँ आम्दानी गर्दछ । त्योबाहेक उनीहरूको आम्दानीको स्रोत अन्य केही छैन ।
एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्ष मात्रै उनको परिवारले नौ क्विन्टल चामल किन्नुपर्यो ।
सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टल मात्रै पाएपछि महँगोमा किन्नु परेको सोनामले बताए । तामाङ परिवारले एक वर्षमा १ लाख रुपैयाँ चामल ढुवानीमै खर्च गर्यो ।
चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै १ लाख रुपैयाँ खर्च हुने गरेको उनले सुनाए । ‘सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुने गर्छ,’ उनले भने, ‘साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ ।’
चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टल नै खरिद गर्नु परेको उनले बताए । सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको । पदमको परिवारमा पाँच छन् । उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ ।
हिउँदेबाली कोदो र जौ एक महिना मात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए । ‘गत वर्ष खाद्यको चामल डेढ क्विन्टल मात्रै पाएको हुँ’, उनले भने, ‘त्यो चामल दुई महिना मात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ ।’
ताक्लाकोट नाका बन्द हुँदा सास्ती
नेपाल–चीन सीमानाका पूर्णरूपमा बन्द भएको पाँच वर्ष भयो । नाका बन्द हुँदा मारमा परे साइपालवासी । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे । खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो ।
सोनामकी श्रीमती सोनाम तामाङ (दम्पतीको एउटै नाम) ले भनिन्, ‘हामीलाई खाद्य संकट हुन लागेको पाँच वर्ष नै भयो । ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरु ग¥यौँ । सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो ।’
साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो । धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुवैतिरबाट आवश्यकताअनुसार सामान आउने गरेको उनी सम्झन्छन् । तर, नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताए ।
दुई वर्ष अगाडि साइपालमा निकै खाद्य सङ्कट थियो । भोकमरी भएपछि धुलीका भीम धामीले चैनपुरबाट चामल माग गरे । तलकोटको रूपातोलाका गोविन्द बोहरा, उनका दाइ प्रदीपसहित तीन जनाले एक क्विन्टल चामल धामीको घरमा पु¥याए । एक क्विन्टल चामल पुर्याएवापत भीमबाट प्रतिकेजी २ सयका दरले २० हजार रुपैयाँ बोहरा दाजुभाइले बुझे ।
‘रूपातोलाबाट धुलीसम्म प्रतिकेजी २ सय रुपैयाँ लागेकै दररेट हो’, गोविन्दले भने, ‘अरू सामान त २ सय रुपैयाँकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्य पर्ने सामान बोकिरहेका छौँ । चामल भने त्यसबखत नै पहिलो चोटी बोकेका हौँ ।’
मान्छेले चामल बोकेर साइपालको धुली पुर्याउँदा प्रतिक्विन्टल (मोटो चामल) साढे २२ हजार रुपैयाँमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल १३ हजार रुपैयाँ पर्छ । न्यूनाका जीवन बोहराले भने, ‘खच्चड हिउँदयाममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् । बर्खामा कसैको परिवारमा खाद्यसङ्कट भए बोकेरै ल्याउनुपर्छ । आफैंले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ ।’
गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी १ सय ८० रुपैयाँ ज्याला लाग्छ भने बलौडीसम्म १ सय ९० र धुलीसम्म प्रतिकेजी २ सय रुपैयाँ लाग्छ । बोहराले भने, ‘हामी महिनामा चार–पाँचपटक साइपालको सामान बोकेर गन्तव्यमा पुर्याउँछौँ ।’ प्रायः फलामका रड, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामान केजीको हिसाबले बोक्ने गरेको उनले बताए । ‘खाद्यको ढुवानी बढीजसो खच्चडबाट नै हुन्छ’, बोहराले भने ।
ठेक्का प्रक्रियामा सास्ती
साइपालवासीले खाद्य सङ्कटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षाैँ बितिसक्यो । करिब तीन हजार जनसंख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ ।
साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँच बर्से कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए । अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिसकेका छन् । प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए ।
‘साइपालका लागि स्थायी डिपो नहुँदा सधैं खाद्यान्नका लागि पिरलो हुन्छ,’ उनले भने । ठेकेदारले पनि आफूखुसी खाद्यान्न पुर्याउँदा वितरणमा समानता नहुने गरेको अध्यक्ष बोहराले बताए ।
साइपालमा खाद्यान्नका लागि यस वर्ष २ हजार ५ सय क्विन्टल चामलको ठेक्का परेको छ । चालू आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन् । तर, चालू आवको १० महिना बित्नै लाग्दासमेत १ हजार ५ सय क्विन्टल मात्रै चामल पुगेको साइपाल गाउँपालिका अध्यक्ष बोहराले बताए ।
उनका अनुसार साइपालमा चामलको आवश्यकता ५ हजार क्विन्टल हो । तर, ठेकेदारले समयमै ढुवानी नगर्दा न ठेक्का रद्द गर्न सकिने, न त थप्न नै सकिने भएको छ ।
‘साइपालमा खाद्यान्न नभएर कन्दमूलको खोजी गर्नुपर्ने अवस्था भइसकेको छ’, अध्यक्ष बोहराले भने, ‘यता ठेकेदारले वेवास्ता गरेजस्तो देखिन्छ । हामीले २ हजार ५ सय क्विन्टल चामल दसैँअगावै पुर्याइसक्नुपथ्र्यो । त्यसपछि फेरि दोस्रो चरणमा थप २ हजार ५ सय क्विन्टलको तयारी गर्ने सोच बनाएका थियौँ । तर, ठेकेदारले १० महिना बित्न लाग्दासमेत पहिलो ठेक्का नै पूरा गरेको छैन ।’
अध्यक्ष बोहराका अनुसार अहिले साइपालमा गएको चामल पनि निश्चित व्यक्तिको कब्जामा गइरहेको छ । ‘स्थानीय सबैसँग धेरै खरिद गर्न पैसा पनि हुँदैन । व्यापारीदेखि हुनेखानेले बढी चामल राख्ने गरेको सुनिएको छ,’ उनले भने ।
चालू आवका लागि साइपालमा गएको चामल वडा नं ४ र ५ मा बढी गएको छ । गएको मङ्सिरमा सबैभन्दा बढी न्यूना गाउँमा चामल गएको अध्यक्ष बोहराले बताए । यता वडा नं ५ का वडाध्यक्ष जैपाल पनि यसपटक भोकमरी टर्नेमा विश्वस्त देखिए । ‘पहिलो लडमा टाढाका गाउँमा पठायौँ । अहिले आइरहेको छैन’, उनले भने । अन्य वडामा भने दुई महिना पुग्ने गरी समेत चामल नगएको पालिका अध्यक्ष बोहराले बताए ।
साइपालमा कतै बढी त कतै कम खाद्यान्न गएकोबारे प्रमुख जिल्ला अधिकारी नारायण पाण्येले पनि वितरणमा एकरूपता हुनुपर्ने बताए । ‘योभन्दा अगाडि मनोमानी ढंगले चामल वितरण गरेको देखियो’, प्रजिअ पाण्डेयले भने, ‘कुनै गाउँमा चार/पाँच महिनाकै लागि पुग्ने गरी चामल गएको देखिन्छ भने कुनै गाउँमा एक/एक बोरा मात्रै चामल गएको छ । अब वडाध्यक्षहरूले आफ्नो मातहतमा लिएर नुन, खाद्यान्न वितरण गर्नुपर्छ,’ उनले भने । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।