logo-img

आगामी बजेटको सिलिङ नघटाऔँ : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका हुन् ।

उनले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउनु नहुने बताए । पौडेलले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए ।  

‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु । खोजौँ, बरु करको दायराहरूलाई वृद्धि गरौँ । सफ्ट लोनमा वैदेशिक अनुदान लिनेकुरा अघि भियतनामको कुरा सुनाउनुभयो । संसारमा प्रगति गर्ने देशहरूले अरू देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडि बढाएको हामी पाउँछौँ । डराउनु हुँदैन,’ उनले भने, ‘त्यसकारणले वैदेशिक अनुदान ल्याउने कुरा, करको दायरा बढाउने कुरा, कतिपय अप्ठ्यारोमा परेर अल्झेका करहरूलाई, बेरुजुहरूलाई नियमन गर्नेकुरा, भ्रष्टाचारलाई न्यूनीकरण गर्ने कुरा र अर्थप्रणाीलाई सुधार्ने कुरातिर हामी गयौँ भनेदेखि एक खर्ब भन्नेकुरा ठूलो होइन । मैले सुनेको गत वर्षभन्दा १ खर्बभन्दा कममा बजेट आउँदैछ, मन्त्रीज्यूहरूले हामी जाँदाखेरी पैसा छैन मात्रै भन्नुहुन्छ ।’ 

सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई/दुईवटा भए पनि राम्रो काम अगाडि बढाउनुपर्ने बताए । उनले ठूला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा जनताले प्रत्यक्ष अनुभूत गर्नेखालका काम हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १३:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया