गौरीघाट बस्ने बंगाली साधुको अलौकिक प्रज्ञायात्रा

पश्चिम बंगाल, विष्णुपुरका उनी विगत १३ वर्षदेखि काठमाडौंमा छन् ।  पशुपतिनाथ परिसरस्थित गौरीघाटको सोमेश्वर मन्दिरमा बस्छन् । उनी बस्नुअघि उक्त मन्दिर फोहोरैफोहोर र दिसासपिसावले भरिएको थियो । त्यसलाई उनले आफैँ सफा गरे । उनी बस्न थालेपछि अनेक कारणले हेपिएको सोमेस्वर मन्दिरको रौनक फेरिएको छ । आजकल मन्दिर भक्तहरुको उर्जामय उपस्थितिले प्रायः गुल्जार भेटिन्छ । अनि त्यहाँ चलिरहन्छ ज्ञान चर्चा, सत्संग र मैत्री ।

उनको सन्यस्त नाम कल्प मोचन आनन्द बज्र स्वामी मुनि हो भने यता उनी राम बाबा नामले बढी चिनिन्छन् । उनीसँग गफिँदा रौँ ठाठाडा हुन्छन् र चेतना उम्लिन्छ । यस्तो पनि लाग्छ, उनका एकएक वाणीहरुलाई जीवनमा उतार्न सके, एक व्यक्ति मात्रै होइन, सारा जगत जाज्वल्यमान हुनसक्छ । 

उनी एक जागृत महापुरुष हुन् । उनी आफैँमा कैयौं मोटा पुस्तक हुन् । यद्यपि उनी बौद्धिक होइनन्, प्रज्ञावान हुन् । बौद्धिकहरु दिमागमा जानकारी ठुँस्छन् । प्रज्ञावानहरु चाहिँ दिमागमा भएको जानकारी समेत निकालेर मिल्काउँछन् । खाली हुन्छन् र प्रकाशले भरिन्छन् । निश्चय नै पण्डित हुनु र प्रकाशवान हुनुमा आकाश–जमिनको अन्तर छ । आज दुनियाँ पण्डित भएको छ । यहाँ विषयवस्तुका जानकारहरु त धेरै छन् । ज्ञानीहरुको चाहिँ यहाँ खडेरी छ । जताततै ‘पढालिखा जाहिल’हरुको संख्या बढिरहेको छ । धेरैजसो अलिकति जान्नेसुन्ने हुनासाथ निर्धा र निमुखालाई ठग्न थाल्छन् । यो त विद्या कदापि भएन । 

भयो त ? 

त्यसैले महसुस हुनु स्वाभाविकै हो कि यहाँ प्रकाश छैन, सब अँध्यारो छ । आँखा खोल्दा अँध्यारो, आँखा बन्द गर्दा पनि अँध्यारो । अनि यस्तो विकराल घडीमा यी बाबा हामीलाई एक जुनकिरी लाग्छन् ।

उनको धाराप्रवाह वाणी सुनेर मनन गर्दा सारा विश्वविद्यालय र मोटामोटा पुस्तक फिकाफिका लाग्न थाल्छन् । उनका कुराहरु सुन्दै, बुझ्दै र गुन्दै जाँदा चेतनामा उच्च ‘रेक्टर स्केल’को भुइँचालो महसुस हुनु स्वाभाविक लाग्छ । 



खासमा यस्ता कुरा हामीलाई स्कुल र कलेजमा पढाइनु पथ्र्यो । तर हामीलाई त अप्रायोगिक र वाहियात शिक्षा लादियो । अझै हालत उस्तै छ । जहाँ ब्यक्तिलाई फगत एउटा यन्त्र बनाइन्छ । तर यी बाबा जे बताउँछन् त्यहाँ जीवनजगतलाई सरल र प्रामाणिक तवरले बुझ्ने प्रज्ञा र प्रेरणा छ । मानवता, करुणा र समग्र जागरण छ । 

उनी सबलाई प्रेम गर्छन् । धनी, गरिब, साधु र चोर उनलाई बराबर । कसैलाई भेदभाव छैन । सबैलाई एकसमान व्यवहार । अनि जिन्दगीमा कडा अनुशासन पालना गर्ने प्रेरणा सबैलाई दिइरहन्छन् । खाली खुट्टा हिँड्छन् । कुनै रोग छैन । जोश र उर्जा अहिलेका युवाको भन्दा तेज । सत्तरी वर्षे उमेरमा पनि उनी देखिन्छन्, जवान !



भन्छन्, ‘खानपान बिग्रिएर मानव आज दुई खुट्टाले हिँडे पनि पशुसरह जीवन व्यतित गरिहेको छ । बरु पशुले जे पायो त्यही खाँदैन । तर मान्छे ? मान्छेले त यहाँ जे पनि खाइभ्याएको छ । यदि मान्छेले चेतनाको विकास चाहन्छ भने, सर्वप्रथम उसले आफ्नो आहारविहारलाई मिलाउनु पर्छ । सात्विकताको अभ्यास गर्नुपर्छ । जिन्दगी आफसेआफ आध्यात्मिक हुन्छ र जिन्दगी सम्बृद्ध हुन्छ ।’

गत ‘लकडाउन’मा एउटा नेपाली ‘युटुब च्यानल’ले उनको अन्तर्वार्ता प्रशारण गर्यो । यी बाबाले नेपाल, नेपाली र सनातन धर्मका बारेमा केही यस्ता तथ्यपरक प्रज्ञा पेश गरे, जसले दर्शकहरुलाई अचम्मित तुल्यायो । कतिले उनका कुरा पत्याए । कतिले पत्याएनन् । यसले उनलाई केही फरक पर्यो कि ?

उनले जवाफ दिए, ‘अलिअलि फरक त पारिहाल्छ । त्यसमा मैले कतिपय कुरालाई अलिक बिस्तारपूर्वक बताउन पाइँन, प्राविधिक कारणले । तर मैले बोलेका सारा कुराहरुको ठोस प्रमाण छ ।’

पन्ध्र मिनेटको उक्त भिडियोमा उनले हिन्दीमा बोलेका कुराहरुलाई अनुवाद गरेर बूँदागत रुपमा तल प्रस्तुत गरिएको छ । यस्तो लाग्छ, यी बाबाले व्यक्त गरेका प्रज्ञाका आधारमा यहाँ एउटा विशाल र भव्य गुरुकुल खोलिहाल्नु पर्छ । 

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै यो अति नै शक्तिशाली मन्त्र त्यसै दिएका थिएनन् – उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !

१. के तिमीलाई थाहा छ, चाइनाको नाम कसरी रहन गयो ? त्यहाँका बासिन्दाहरु चन्द्रमाबाट आए । तसर्थ मुलुकको नाम रहन गयो, चाइना । ठूला आँखा र लामो नाकवाला मान्छेहरु सूर्यबाट आए । जो भारतवर्षका बासिन्दा हुन् । नेपालमाचाहिँ चन्द्रवंशी र सूर्यवंशीहरुको समिश्रण पाइन्छ । त्यसैले आफैँलाई चिन्ने अभ्यासमा लाग, नेपालीहरु । तिमीहरु दुनियाँकै महत्वपूर्ण बासिन्दा हौ । पहिले काठमाण्डौ उपत्यका बिल्कूलै खाली थियो । पछि यहाँ चन्द्र र सूर्यवंसीहरुलाई खोजीखोजी ल्याएर यहाँ राखियो ताकि उनीहरुलाई कसैले विनाश गर्न नसकोस् । किनभने, यहाँ हमेशा एक प्राकृतिक सुरक्षाकवच मौजूद छ ।

२. नेपालमा खासमा प्राकृतिक विपदा कम आउनु पर्ने हो । वा आउनै नपर्ने हो । किनभने, प्रकृतिले नै चन्द्रवंशी र सूर्यवंशीको यहाँ रक्षा गर्दछ । तर आज यहाँ प्राकृतिक विपदा आउन थालेका छन् । यसको कारण आज यहाँकोे शक्ति ह्रास हुन थालेकाले हो । यसो हुनुमा यहाँका बासिन्दा नै जिम्मेवार छन् ।

३. नेपाल सारा दुनियाँको प्रमुख अदालत थियो । यसको पुरानो नाम न्यायपालले नै यसबारे धेरैथोक बोलिरहेको छ । न्यायपाल याने न्यायलाई पालना गर्ने, गराउने । पशुपतिमा अवस्थित प्रमुख शिवलिंगको चारैदिशामा पूजा हुने गर्दछ । साथै मास्तिर शिरको पनि पूजा हुन्छ । यसको मतलव के हो ? पशुपति नै सारा धर्तीका न्यायपाल हुन् । दुनियाँमा यसरी पूजा हुने शिवलिंग अन्त कतै छैन । 

४. मानव शरीर मरेपछि आत्मा मुक्त हुन्छ । नेपालका बच्चाहरु तारा बनेर आकाशमा बस्छन् । आकाशमा जति पनि ताराहरु छन्, ती सबै यहाँबाट शरीर छाडेर गएका असल आत्मा हुन् । यदि तपाईंलाई प्रमाण चाहिन्छ भने, एक आँखावाला शुकदेव मुनिका बारेमा खोज्नुहोस् । उनी रावणका गुरु शुक्राचार्य नामले पनि प्रख्यात छन् । त्यो सुखतारा नामले अहिले पनि आकाशमा जाज्वल्यमान छ ।

५. बंगालमा मैले साढे नौ वर्ष केवल फल खाएँ । त्यसबेला पानी पनि मैले कम पिएँ । फलले बल बढाउँछ भने बिजले चाहिँ विर्य बढाउँछ । फल र अनाज खाए हुन्छ । यी दुई बाहेक तेस्रोलाई खान मनाही गरिएको छ ।

६. गर्भमा आएको ६ महिनामै भ्रुणमा श्रवण शक्तिको विकास हुने गर्दछ । एउटा बालकको वास्तविक शिक्षा त्यहीँबाट शुरु हुन्छ । यदि बच्चालाई ज्ञानी बनाउने हो भने, गर्भवती महिलालाई चाहिँ उचित शिक्षा दिन थाल्नु जरुरी हुन्छ । अष्टावक्र ऋषिले आमाको गर्भबाटै आफ्नो पढाइ शुरु गरेका थिए । 

७.पशुको दूध खाने हो भने,त्यसमा सुकुमेल हालेर खानुपर्छ । नत्र दूध पनि रगत हो । सुकुमेलमा यस्तो तत्व हुन्छ जसले दूधमा रहेको रगत र बोसोको मात्रालाई निमिट्यान्न पारिदिन्छ ।

८. एक अर्काको ज्यानमाथि जो वार गर्छ त्यो जनावर हो । यहाँ मनुष्यका नाउँमा धेरै जनावर छन् । कोही दुई खुट्टाले टेकेर हिँड्दैमा मनुष्य बन्दैन । मनुष्य बन्न ज्ञान र बोध चाहिन्छ ।

९. जगतका सारा मनुष्य हाम्रा नातेदार हुन् । सनातन हाम्रो मार्ग हो । मानवता हाम्रो धर्म हो । मनुष्यलाई लामो समयसम्म यस धर्तीमा सही तवरले राख्ने काम धर्मले गर्दछ । 

१०. यदि हामीले मन्त्रका साथ जीवन बाच्न जान्यौं भने, अर्को जीवनमा हामी कुकुर, बिरालो वा सुँगुर बन्नु पर्दैन । यी जनावरहरुको शरीरबाट पसिना निस्किँदैन । यिनीहरुको जीवन अभिसप्त हुन्छ । मनुष्यले जीवनमा गलत काम गर्दा अर्को जीवनमा उसले यी तिन मध्ये एक जीव बन्नुपर्ने हुन्छ । यस कुराको याद उसलाई हुन्छ । युनिभर्सल हेयरका साथ यी तिन जनावरहरुको कनेक्सन हुँदैन । यिनीहरु सडेगलेको भोजनले पेट भर्छन् । 

११. चौरासी लाख योनी पार गरेपछि हामीलाई मानव जीवन प्राप्त हुन्छ । यो अमूल्य जीवन पाएर पनि गलत काम गरेको खण्डमा हामी पुनः पशुयोनीमा खस्दछौं । अनि फेरि शुरु हुन्छ भयावह भट्कान ।

१२. धेरैखाले ज्ञान मन्दिरबाट शुरु हुन्छ । मन्दिरमा मानवताका साथै जीवन बाच्ने कला पनि सिकाइनु पर्ने हो । तर आज मन्दिरहरुको के हालत छ ? यो कुरा सबैलाई ज्ञात छ । सुधार नगरे विनाश निश्चित छ ।

१३. सबै धर्म हाम्रो सनातन परम्परासँग जोडिएका छन् । जस्तो, इशा मसिहको पुरानो नाम हो, जोएश मुनि । मुहम्मदको पुरानो नाम हो, कुरेश मुनि वा कुरेशी । बुद्ध धर्मका नक्षत्र बुद्धलाई हामी शाक्य मुनिका नामले जान्दछौं । यहाँ सबै नातेदार छन् । को छ मेरो दुश्मन ? नातागोता भनेकै सनातन हो । सनातनको वास्तविक अर्थ यदि बुझ्ने हो भने, यहाँ कोही पनि हाम्रो दुश्मन छैन । यो कुरा बुझ्दा बशुधैव कुटुम्बकम हुन जान्छ र दुनियाँका सारा सिमानाहरु अर्थहिन लाग्छन् ।

१४. क्राइष्टको अर्थ प्रकाश । अल्लाहको अर्थ प्रकाश । कृष्णको अर्थ पनि प्रकाश । अलौकिकको अर्थ पनि प्रकाश । प्रकाशका अलग अलग अवतार छन् ।

१५. जब शरीर मर्छ, गल्छ र सड्छ त्यतिबेला जे बाँकि रहन्छ त्यो नै आत्मा हो । त्यही गुरु तत्व पनि हो । गुरुमा तीन वटा शक्तिहरु विद्यमान छन्, ब्रह्मा, विष्णु र महेश । गुरुलाई ईश्वर बराबर मानिएको छ । ब्रह्मा, विष्णु र महेशलाई चलाउने पनि गुरु नै हुन् । 

१६. अण्डा, मासु र रक्सी सेवन गरेर धर्मलाई पाउन सकिँदैन । यो कर्मको दुनियाँ हो । यहाँ कर्मअनुसार नै फल मिल्दछ । तिमी जे खान्छौ सोही अनुसारको उर्जा प्राप्त हुने गर्दछ । तन्त्रको अभ्यास गर्नेहरुले पुरानो जमानामा बिहान सबेरै उठ्ने अभ्यास गर्न कुखुरो खाए । कुखुरो ब्रह्ममूहुर्तकै हाराहारीमा उठेर बास्ने हुँदा बिहान सबेरै उठ्न नसक्नेहरुले यो जीव खान्थे । ताकि ऊ जस्तै बिहान उठ्न सकियोस् । तर आज त कुखुरो केवल फास्टफुडमा परिणत हुन गएको छ । आज यहाँ तन्त्र विद्या होइन, केवल जिब्रो र पेटको पूजा भइरहेको छ । दुनियाँमा जति पनि युद्धहरु भएका छन् ती सबै जिब्रोका कारण भइरहेका छन् । 

१७. एउटा पुरानो भनाइ छ, दाना दानामा लेखिएको हुन्छ खानेवालाको नाम । धर्तिका खाली जमिन र वनजंगलहरुमा फल लगाइदिने हो भने, मान्छे भोकै पर्दैन । तर मान्छेले आफ्नो दुःख यहाँ आफैँ निम्त्याएको छ । अनि ऊ अनेक तरहले आक्रान्त छ ।

१८. काठमाण्डौमा हलो जोत्न मनाही छ । उपत्यकामा तराइबाटै अनाज ल्याएर खाने नियम हो । काठमाण्डौ बाहेक नेपालका अन्य जमिनहरुमा उत्पादित अनाज आदिले पहिले चीन र भारत लाभान्वित हुन्थे । अहिले स्थिती बिपरीत भएको छ । अब नेपालमा पो भोकमारीले सताउन थालेको छ । 

१९. जमिनमा हलो चलाउनुलाई यहाँ धर्ती मातासँग सम्भोग गरेतुल्य मानिएकाले मन्दिरहरुको शहर काठमाण्डौमा हलो चलाइँदैन । किनभने, यो स्वयम्भू अवस्थित भूमि हो । उपत्यका आफैँमा एक स्वयम्भू हो । यस शहर वरिपरि भएका बृत्ताकार पहाडहरु स्वयम्भूको श्रीपेच हुन् । यस्तो तत्वमीमांसा दुनियाँमा अन्त कतै छैन । स्वयम्भूको श्रीपेचले नकारात्मक शक्तिबाट सारा जगतलाई बचाउँछ ।       

२०. पाठशाला र विद्याशालामा भेद ः दुनियाँमा जति पनि स्कूल, कलेज र युनिभर्सिटी छन् ती केवल पाठशाला हुन् । विद्याशाला भनेको मन्दिर हो । तर आज पाठशालामा विकृत्ति र विद्याशालामा दिसापिसाव भरिएको छ । पैसामा किनबेच हुने कुरा कसरी विद्या हुन्छ ? यो त धन्दा भैगयो नि । भएन र ? विद्या त पवित्र हुन्छ र पैसामा यो किनबेच हुन सक्दैन । थप कुरा, पाठशालामा दृश्यमान शक्तिका बारेमा पढाइन्छ भने विद्याशालामा अदृश्य शक्तिका बारेमा । त्यसैले कुनै पनि मुलुकको सरकार वा उसको प्रहरीले दृश्यमान कुराहरुको रक्षा गर्दछन् भने, साधुले चाहिँ अदृश्य कुराहरुको रक्षा गर्दछ । नत्र यो दुनियाँ कसरी चल्छ ? 

२१. क्रिश्चियन र इस्लाम धर्ममा उल्लेख गरिएको छ, यो दुनियाँ एकदिन आगोले जलेर नष्ट हुनेछ । 

२२. कोरोना महामारी किन फैलियो ? मान्छेले जथाभावी मुख खोलेर । ईश्वर चाहन्छन् कि जरुरी पर्दा बाहेक अरुबेला मान्छेले आफ्नो मुख बन्द राखोस् । तर मान्छेले त्यसो गरेन र उसलाई अनेक रोग वा महामारीले पिछा गरिरह्यो । जस्तो भोजन, त्यस्तै मन । जस्तो मन, त्यस्तै कर्म ।

२३. सुगन्धले लामो आयु र निरोगिता प्राप्त हुन्छ । दुर्गन्धले रोग निम्त्याउँछ र अकालमा ज्यानै लिन्छ । महामृत्युञ्जय मन्त्रको अर्थ पनि यही हो, सुगन्धिम पुष्टिवर्धनम् । मृत्युलाई वशमा पार्नु छ भने सुगन्धमय बन्नू । यदि तपाई खुल्ला ढलछेउमा बस्नुहुन्छ भने, तपाईंको जीवनको कुनै भर छैन । सडेगलेको दुर्गन्धले मान्छेलाई घात गर्छ । मन्दिरमा फूल, अगरबत्ती र अत्तर किन चढाइन्छ ? सुगन्ध फैलाउन । सुगन्धले मानिसलाई दिर्घायु र आरोग्यता दिन्छ ।

२४. हामीले अमृत नै सेवन गरे पनि हाम्रो शरीरले त्यसलाई विष बनाएर बाहिर निकाल्छ । त्यसैले नित्य मानव शरीरको अत्यधिक हेरचाह र सरसफाइ गर्नु जरुरी छ । फोहोर र दुर्गन्धले हामीलाई रोग लाग्छ र अकालमै मार्छ । अकाल मृत्यु वही भोगे, जो कर्म करे चण्डाल । मानवलाई दिइएको आयु सय वर्षभन्दा चाँडै मृत्यु हुनु अकाल मृत्यु हो । आयु निर्धारण गर्ने पनि मानवकै कर्म हो । जस्तो कर्म त्यस्तै नियति । 

जति पनि यहाँ मान्छेहरु बिमार छन् वा भए, त्यहाँ कहीँ न कहीँ उनीहरुको कर्ममा गडबड थियो वा छ । पाप कर्मले विनाश ल्याउँछ भने पुण्य कर्मले विकास । कर्म राम्रो छ भने आँखा बन्द गरेर हिँडे पनि यहाँ एउटा काँडोसमेत बिझ्दैन । किनभने यो धर्ती आमा हुन् । एउटा बच्चालाई आमाले नराम्रो कहिल्यै सोच्दिनन् र गर्दिनन् पनि । तर बच्चा फटाहा र उद्दण्ड छ भने उसले धेरै सजाय पाउँछ । धर्तिमाताका बारे पनि सोही कुरा लागू हुन्छ । राम्रो गर्नेलाई धर्तीमाताले हमेशा राम्रो नै गर्छिन् । 

त्यसैले तिमी हरपल धर्तीमातासँग जोडिएर बस्ने गर । खाली खुट्टा जमिनमा हिँडनु पर्छ । जुत्ता लगाएर प्रकृतिको उर्जालाई तिमी कसरी प्राप्त गर्न सक्छौ ? जुत्तामा रबर हुन्छ जसले प्रकृतिसँगको हाम्रो न्यानो सम्बन्धलाई छिन्नभिन्न पारिदिन्छ । यस्तै कारणले  मानवको आयु र आकारसमेत घटेको हो ।  

२५. हाम्रो जिन्दगीको पहिलो महत्वपूर्ण काम भनेको यो धर्तीलाई सहीसलामत राख्नु हो । धर्ती सही भए यहाँ आउनेजाने प्राणीहरु पनि सही हुन्छन् । नत्र त यहाँ केवल रोग र अकाल मृत्यको बाढी आउँछ । जस्तो अहिले भइरहेको छ ।

२६. एक नारी ब्रह्मचारी । दुई वा बहु नारी व्याभिचारी । ब्रह्मचारीहरुले यो धर्ति बचाउँछन् भने व्याभिचारीहरुले विनाश मात्रै गर्दछन् । 

२७. पाँच स्वरहरुको मन्दिर केवल काठमाण्डौमा छ । किँरातेस्वर, भष्मेस्वर, प्राणेस्वर, रुद्रेस्वर र सोमेस्वर । यी सब स्वर र वाणीसँग सम्बन्धित छन् । उहिले किँरातेस्वरमा मान्छेहरु वाणीले नै काम लिन्थे । त्यसैले त यस पवित्र भूमिको नाम रहन गयो, न्यायपाल ।

२८. सबैले मनुष्य बन्ने प्रयास गर्नू । यहाँ मनुष्य कम र पशु बढी भए, दुई खुट्टे पशु क्या । जे पायो त्यही खाने र जे पायो त्यही गर्ने कसरी मनुष्य भयो ? बरु पशुले जे पायो त्यही खाँदैन र प्रयोजनहिन कार्य पनि गर्दैन । तर मान्छे ? मनुष्यले यहाँ आफ्नो शक्ति गुमाइसकेको छ र ऊ निकृष्ट जीवन व्यतित गरिरहेको छ । मनुष्यको बिशेषता ज्ञान, सादगी र प्रकाश हो । 

२९. खानपानका अलावा हिंसा प्रमुख पशुवृत्ति हो । आफ्नो वा अरुको बच्चालाई एक झापड हान्नु पशुवृत्ति हो । हातपात कसैलाई गर्नुहुँदैन । वाणीले नै काम लिनु र दिनु उत्तम हुन्छ । नत्र त सब जनावर भइगए नि । 

भएनन् र ? 

यो पनि : ‘लुनेटिक’ यादहरू...

  • प्रकाशित मिति : वैशाख २९, २०८० शुक्रबार १५:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया