तोकेभन्दा बढी पेट्रोल ल्याउने ट्याङ्कर चालकलाई सधैंका लागि इन्धन ढुवानीमा रोक
फाइल तस्बिर

नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । 

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्याङ्करका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैंका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो । 

रूपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । 

निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्याङ्करको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ । लु२ख ४८३९ नम्बरको सो ट्याङ्करले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । 

आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा ३ हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो । 

तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । नेपालभन्दा भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले सो ट्याङ्करले चोरीपैठारी गरेका हुनसक्ने निगमको अनुमान छ । रासस 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १२:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया