logo-img

समितिका सचिवलाई सभापति केसीको निर्देशन : सार्वजनिक लेखा समितिका हरेक काम सार्वजनिक गर्नू

सार्वजनिक लेखा समिति सभापति (ज्येष्ठ सदस्य) अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन् ।  

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचारलाई निर्मूल गर्न कसिएर बसेको समितिले गरेका काम आम जनताले थाहा पाउन आवश्यक रहेको भन्दै अब समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उनले सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरू सार्वजनिक गर्न आवश्यक रहेको बताए ।   

‘सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरू पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ । समिति निष्पक्षरूपमा यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता हो । नीतिगत निर्णयको सन्दर्भमा नेपालको ऐन, कानुन र नियममा कहीँ उल्लेख नभएको सार्वजनिक हितका लागि नभइ नहुने निर्णय मात्रै नीतिगत निर्णय हो,’ केसीले भने, ‘नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरूको नाममा आम सहमति गर्ने अवस्था देखिएको छ । हामीले अनुभव सुनाउने हो भविष्य युवा सांसदहरूले निर्माण गर्ने हो । भ्रष्टाचारका सम्बन्धमा संसदीय समिति, सदन र समितिमा कुरा उठ्न सकेन भने अहिलेको व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्यो भने त्यसलाई समाधान गर्न सक्दैनौँ ।’    



उनले सार्वजनिक लेखा समितिका सभापति वा सदस्य पार्टी भन्दामाथि उठेर काम गर्नुपर्ने बताए । उनले निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले पछिल्लो समय नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरूबीच आम सहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न नहुने बताए ।  

‘उमेरको कारणले म सभापति भए पनि समितिको सभापति नै हो । मैले एउटा अधिकार के प्रयोग गरे भने समिति सचिवलाई निर्देशन गर्छु । सार्वजनिक लेखा समितिको कार्यहरू सार्वजनिक हुनुपर्छ । सार्वजनिक लेखा समितिमा बसेर गरेका कामहरू जनतालाई थाहा दिनुपर्छ । नेताको निर्देशन मानेर काम गरेका छन वा छैनन् भनेर थाहा पाउनुपर्छ,’ केसीले भने, ‘अन्य समितिले के गर्छन् थाहा छैन हाम्रो समितिको सार्वजनिक हुनुपर्छ । सबैले थाहा पाउनुपर्छ जनप्रतिनिधिले लुकेर काम गर्नुहुँदैन । देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचारलाई निर्मूल गर्न कसिएर बसेको समितिले लुकेर काम गर्नुपर्ने केही छैन ।’ 

सभापति केसीले एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्ड बाहिर आएको भन्दै सरकारले निष्पक्ष छानबिन गर्न सक्नुपर्ने बताए । उनले सरकारको बेरुजुको ७५ प्रतिशत भ्रष्टाचार भएको पनि बताए ।  



उनले अहिले १ खर्ब १५ अर्ब ५ करोड बेरुजु रहेको भन्दै मुलुकको अर्थतन्त्र कहाली लाग्दो अवस्थामा रहेको पनि बताए ।  



  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार १४:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया