धनुषामा घरेलु हिंसा : कतै बुहारीमाथि करणी प्रयास, कतै देवरमाथि छुरा प्रहार

धनुषामा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको देखिएको छ । जिल्लामा कतै श्रीमानले श्रीमतीलाई त कतै देवरले भाउजूलाई कुटपिट गर्दै आएको घटनाका दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा परेका छन् । पछिल्लोपटक जिल्लाको विदेह नगरपालिकामा भाउजूले देवरलाई कुटपिट गर्दा जनकपुरधाममा जेठाजुले भाइबुहारीमाथि जबरजस्ती करणीको प्रयास गर्दै छुरासमेत प्रहार गरेको घटना बाहिरिएको छ । 

बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ लादोबेलामा २६ वर्षीया सफिना खातुनलाई नातामा जेठाजु पर्ने पप्पु साफिले जर्बजस्ती करणीको प्रयास गर्दै छुरा प्रहार गरेको आरोप लगाइएको छ । सफिनाका पति टिपु सुल्तान भने वैदेशिक रोजगारीको क्रममा विगत ४ वर्षदेखि मलेसियामा छन् ।
 
टिपु र सफिनाको बिहे भएको १२ वर्ष पुगिसकेको छ । उनीहरुका चार सन्तान पनि छन् । तर, टिपु मलेसिया गएपछि घरपरिवार र छोराछोरीसँग कुनै मतलव नराखी आमा र दाइको कुरा मात्र सुनेको भरमा सफिनाको चरित्रमाथि नै सवाल उठाउने गरेका छन् ।
 
सोही क्रममा विगतदेखि नै उनको घरमा आन्तरिक कलह हुँदै आइरहेको छ । बुधबार पनि श्रीमानले आफूसहित छोराछोरीलाई खान लाउन नदिएको र परिवारका अन्य सदस्यको लहैलहैमा लागेर आफूहरुमाथि हिंसा गरेको भन्दै सफिना जिरोमाइलस्थित प्रहरी चौकी पुगेकी थिइन् । 

उनीसँगै उनका जेठाजु पप्पु र सासुआमा पनि त्यहाँ गएका थिए । प्रहरीले घरायसी विवादलाई आपसमै सुल्झाउन र सहमतिमै बस्न सुझाब दिँदा पप्पु कसैको कुरा नै नसुनी त्यहाँबाट उठेर घर गए । पछि सफिना पनि घर पुगिन् । 

घर गएको केहीबेरमै आपसी विवाद पुनः सुरु भयो । सफिना आफ्नो कोठामा जान लाग्दा पप्पुले उनलाई घिसारेर कोठामा बन्द गरी जबर्जस्ती गर्ने प्रयास गरेको र उनले प्रतिकार गर्दा शरीरको लुगा च्यातेर निर्घात कुटपिट गर्दै छुरासमेत प्रहार गरेको सफिनाका भाइ सद्दाम हुसैनले सुनाए । सफिनामाथि उनकी सासूआमा र जेठाजु मिलेर मरणासन्न हुनेगरी कुटपिट गरेको सद्दामले बताए ।

सफिनाका पति टिपुले पनि आफ्ना दाइ र आमाको उक्साहटमा आएर विदेशबाटै फोनमार्फत मानसिक तनाव र गालीगलौज गर्दै उनको चरित्रमाथि पनि लाञ्छना लगाउँदै आएको उनको गुनासो छ ।
 
यता, प्रादेशिक अस्पतालमा उपचाररत सफिनाले टिपुसँग आफ्नो बिहे भएको १२ वर्ष बितिसक्दा पनि उनलै कहिल्यै आफूलाई पत्नीसरह व्यवहार र माया नगरेको सुनाइन् । उनले आफ्नो श्रीमानको अर्कै स्थानीय महिलासँग अफेयर रहेको आरोपसमेत लगाइन् । 

सफिनामाथि कुटपिट गर्ने उनका जेठाजु पप्पुलाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिरोमाइल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् । 



उता, धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ बेलापट्टीमा स्थानीय बेचु मण्डलकी श्रीमती ३० वर्षीया रिंकु कुमारी मण्डलले आफ्नो देवर राजकुमार मण्डलमाथि घरायसी विवादकै कारण मंगलबार राति छुरा प्रहार गरेको घटना बाहिरिएको छ । 

अंश हकसम्बन्धी आपसी विवाद हुँदा रिंकुले राजकुमारमाथि पछाडिबाटै ज्यान मार्ने उद्देश्यले घाँटीमा ठूलो छुरा प्रहार गरेको आरोप लगाइएको छ । रिंकुको छुरा प्रहारबाट गम्भीर घाइते भएका राजकुमार हाल जीवन–मरणको दोसाँधमा छन् । उनको जनकपुरधामस्थित मेड नेपाल अस्पतालमा उपचार भइरहेको छ ।



आर्थिक वर्ष २०७८/७९ मा धनुषामा मात्रै कुटपिट, खान-लाउन नदिएको, घरनिकाला, पुरुषपीडित, धाकधम्की, दाइजोसम्बन्धी कसुर, गालीगलौजलगायत ८३५ वटा सामाजिक हिंसाका घटना घटेको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ ।

  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १९:२३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया