गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवालाई चुस्त बनाउन आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गरिने बताएका छन् ।
बुधबार पोखरास्थित यातायात व्यवस्था कार्यालयको अनुगमनका क्रममा उनले सेवाग्राहीबाट आएका गुनासा र समस्या समाधानका लागि मन्त्रालय तहबाट पहल र सहजीकरण गर्ने बताए ।
मन्त्रालयका उपसचिव टीकाराम पौडेलसहितको अनुगमन टोलीसमक्ष सेवाग्राहीले सेवा लिँदा खेप्नुपरेका समस्याबारे जानकारी गराएका थिए । सेवाग्राहीले खानेपानी अभाव, अव्यवस्थित र झन्झटिलो सेवा प्रवाह, पुराना सवारीसाधनबाट ट्रायल दिनुपर्नेलगायत समस्या राखेका थिए ।
कार्यालयमा हुने बिचौलियाको चलखेल नरोकिएको गुनासो आएपछि मन्त्री जुग्जालीले आकस्मिक अनुगमन गरेको बताइएको छ ।
गत साता मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जुग्जालीले मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन पहल थालेका हुन् । उनले पोखरामा चल्ने सवारीसाधनको प्रदूषण मापदण्डलाई कार्यान्वयन गरिने बताए ।
गत वैशाख १५ गते बसेको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाह सुधारबारे अध्ययन प्रतिवेदन तयार पार्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदबहादुर कुँवरको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
कार्यदलले तत्कालीन र दीर्घकालीन कार्ययोजना समेटेर तयार पारेको प्रतिवेदनलाई स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
कार्यदलले निर्धारित १५ दिनभित्रै गत वैशाख २९ गते सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदनले निदृष्ट गरेका कार्ययोजनामा टेकेर यातायात कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाइने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।