logo-img

'नीति तथा कार्यक्रममा प्रतिपक्षकाे भावना समेट्नुपर्छ'

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका हुन् । 

ठिक आलोचनालाई सुन्ने र पूर्वाग्रह राखेका कुरालाई खण्डन गर्नुपर्ने बताउँदै उनले सत्तापक्षलाई प्रतिपक्षको खबरदारी आवश्यक रहेको बताए । संसदमा केवल आलोचनाको लागि आलोचना नगरी परिणामको निम्ति बहस गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘प्रतिपक्षले सदनमा उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्छ । यो प्रणालीअनुरुप लोकतन्त्रलाई लिएर जानु अहिलेको दायित्व हो ।’

नेकपा(एमाले)का सांसद ठाकुर गैरेले प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नु नपर्ने बताएका छन् । उनले सुझाव कार्यान्वयन गर्दा बजेट राम्रो हुने र सत्तापक्षले नै प्रशंसा पाउने भन्दै सो कुरा सत्तापक्षलाई स्वीकार्य नभएको देखिएको बताए । 



उनले भने, ‘जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले दिएका सुझावलाई ग्रहण गरेर, कार्यान्वयन गरेर जाँदा यही सरकारको नीति, कार्यक्रम पपुलर हुने हो नि ।’ जनताको पक्षमा समृद्ध र राम्रो बजेट ल्याउँदा जनताले स्याबासी दिने उल्लेख गर्दै उनले भने, ‘तर, त्यो स्याबासी उहाँहरुलाई स्वीकार्य छैन भन्ने कुरा यहाँ देखापरिरहेको छ ।’

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सत्तापक्ष हुँदा सबै कुरा सकारात्मक र प्रतिपक्ष हुँदा सबै कुरा नकारात्मक देख्ने संस्कृति बसिसकेको बताए । यस्तो सोचले देशको विकास हुन नसक्ने बताउँदै उनले आरोप–प्रत्यारोप छोडेर यथार्थपरक र वस्तुनिष्ठ टिप्पणी गर्नुपर्ने बताए । उनले भने, ‘प्रतिपक्षमा हुनेबित्तिकै सत्य, असत्य हुँदैन न त सत्तापक्षमा हुनेबित्तिकै असत्य, सत्य हुन्छ ।’ देशको हितमा छ भने प्रतिपक्षमा भए पनि उसको कुरालाई मान्यता दिएर अघि बढ्दा देशकै हित हुने उनको भनाइ छ । 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम पुनःलेखन गर्ने कुरा उठाउनु जायज नभएको बताए । नीति तथा कार्यक्रममा पुराना राम्रा कुराहरु पनि समेटिएको उनले बताए ।



राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरुको निरन्तरता भएको बताए । उनले भने, ‘ कायापलट गर्नेखालको भन्ने सत्तापक्षीय बहस र यसले केही पनि गर्दैन, एउटा कर्मकाण्ड मात्रै हो भन्ने प्रतिपक्षको बहस जिम्मेवारपूर्ण भएन ।’

नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफल जिम्मेवारपूर्ण नभएको उनको टिप्पणी छ । 



  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १९:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया