नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट

राष्ट्रपति रामचन्द्र पौडलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले आज नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणविरुद्ध रिट पेस गरेका हुन् । 

रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग गरिएको वरिष्ठ अधिवक्ता भण्डारीले जानकारी दिए ।  

‘राष्ट्रपतिबाट हिजो प्रमाणीकरण भएको विधेयकलाई ऐनको अंग नबनाइपाऊँ भनेर माग गरेका छौँ । कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत मागेका छौँ,’ उनले भने ।

भण्डारीका अनुसार नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश माग गरिएको छ ।   

राष्ट्रपति पौडेलले नागरिकता विधेयक बुधबार बिहान प्रमाणीकरण गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत रोकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार उनले संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।



संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर, तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।      



  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १३:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया