logo-img

सांसद विकास कोषको रकमबाट कक्षा ११ र १२ को शिक्षा निःशुल्क गर्न अनेरास्ववियुको माग

अनेरास्ववियुले सरकारले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ । 

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा समावेश गरेको सांसद विकास कोषको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो । 

अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसको निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ । सभामुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको बेलामा सांसद विकास कोषको स्थापना गरी सांसदहरुलाई ५/५ करोड रुपैयाँ वितरण गर्नुले सांसदहरु जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको बताए । 

सो कोषका लागि कानुनी व्यवस्था नभए पनि बदनीयतका साथ अगाडि बढाइएको उल्लेख गर्दै उनले कोषका लागि छुट्टयाइएको ८ अर्ब २५ करोड रुपैयाँ रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउनका लागि प्रयोग गर्नुपर्ने बताए । 

ज्ञापनपत्र बुझ्दै सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । सरकार, संसदलगायत राज्यका अंगहरुको आ–आफ्नो क्षेत्राधिकार हुने भन्दै उनले सो कुरालाई मनन गर्न आग्रह गरे । 



ज्ञापनपत्र बुझाउनका लागि अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतको प्रतिनिधि मण्डल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेको थियो ।
 



  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १८:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया