logo-img

मदन-आश्रितको अस्तु विसर्जन गरिएको स्थानमा उद्यान निर्माण

नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको अस्तु विसर्जन गरिएको ठाउँमा आकर्षक बाटिका निर्माण गरिएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गा उनीहरूको मृत्यु भएको थियो । नेताद्वयको मृत्युपश्चात् चितवनको माडी नगरपालिका–६ लक्ष्मी निवासमा अस्तु विसर्जन गरिएको थियो । 

तत्कालीन जनप्रतिनिधिले मदन–स्मृति वन बाटिका नामकरण गरेर २०५६ सालमा ‘भ्यू टावर’ निमार्ण अगाडि बढाएको बाटिकाका उपाध्यक्ष श्रीप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार यस बाटिकामा रहेको समीको चौतारोमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विर्सजन गरिएको छ । सोही ठाउँ नजिक कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा शालिकसमेत निर्माण गरियो र उद्यानको नाम समेत पुष्प–मदन स्मृति बाटिका राखियो । बाटिकामा अहिले भौतिक संरचना र सौन्दर्यकरणका काम भइरहेको जनाइएको छ । 

माडी ठोरी हुलाकी सडकअन्तर्गत जनकल्याण माविबाट करिब दुई किलोमिटर दक्षिणतर्फ लागेपछि लक्ष्मी निवाससँगै रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस बाटिकामा पुग्न सकिन्छ । यहाँ फोटो खिच्ने र टिकटक बनाउनेसँगै वनभोज खान र घुमिफिर गरेर मनोरञ्जन लिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाटिकामा निर्माण गरिएको भ्यूटावरबाट माडी उपत्यकाका विभिन्न ठाउँ र भरतपुरको गोलाघाटसम्मका सुन्दर दृष्य देख्न सकिन्छ । वाटिकामा भ्यू टावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको सालिक, वनभोज स्थल र सभाहल रहेको उपाध्यक्ष दवाडीले जानकारी दिए ।  





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ११:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया