राष्ट्रपतिदेखि उच्चपदस्थ कर्मचारीको तलब २५ प्रतिशतले कटौती गरौँ : योगेश भट्टराई
‘आर्थिक संकट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गरौँ’

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । 

राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने उनले बताए । गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने सांसद भट्टराईको प्रस्ताव छ । 

‘आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? त्यसको साझा अवधारणा बनाऔँ । त्यो एमाले अथवा कांग्रेसको अवधारणा हुँदैन । त्यो मुलुकको अवधारणा हुन्छ,’ सांसद भट्टराईले भने ‘त्यो अवधारणा बोकेर जाऔँ । म अर्थमन्त्रीजीलाई यो हिम्मत गर्नुस् र आजको दिनमा प्याराडाइम सिफ्ट नगरी हुँदैन । यत्तिकै चलन चल्तीको हिसाबले हुँदैन । चलनचल्तीको हिसाबले जाने हो भने अर्को वर्ष जेठ १५ गते फेरि एउटा बिलौनापूर्ण वक्तव्य सुन्नुबाहेक अर्को कुनै विकल्प छैन ।’

सांसद भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतले तलब, भत्ता कटौती गर्ने प्रस्ताव पनि गरेका छन् । ‘राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा, उपसचिवभन्दा माथिका कर्मचारीहरु, राजनीतिक नियुक्तिमा भएका मानिस सबैको आउँदो वर्ष २५ प्रतिशतले तलब, भत्ता कटौती गर्ने घोषणा गर्नुस् । हामी प्रतिपक्षको हिसाबले तपाईलाई समर्थन गर्छौं ।’

सरकारले ल्याए​को आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यहरुलाई निश्चित नगरेको आरोप लगाउँदै उनले बजेटले आजका चरम आर्थिक संकटहरुलाई अनुभुति समेत नगरेको बताए । 





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार २०:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया