योगेश भट्टराईले भने- दुई तिहाइले कोशीको नाम फेर्नुस्, हामीलाई स्वीकार्य छ, ढुंगामुढा गरेर हुँदैन
फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि साङ्घातिक हमलाको निरन्तर प्रयास भइरहँदा पनि सरकार मूकदर्शक बनिरहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमाले सचिव योगेश भट्टराईले सत्तापक्षकै कार्यकताहरूले बिहीबार (हिजो) पनि कोशी प्रदेशका एमालेका संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको आरोप लगाउँदै त्यसको जवाफ सरकारसँग माग गरे । 


उनले सत्तापक्षकै कार्यकर्ताहरूले हाम्रो पार्टीका नेताहरूमाथि निरन्तर साङ्घातिक आक्रमण गर्दा पनि सरकार किन चुप लागेर बसिरहेको भनी प्रश्नसमेत गरे । उनले प्रदेशको नामकरण गर्ने विषय प्रदेशकै अधिकार भएकाले त्यस विषयलाई लिएर किन एमालेमाथि आक्रमण भइरहेको भनी आक्रोशसमेत व्यक्त गरे । 

प्रदेशको राजधानीको नामकरणको विषयलाई लिएर एमालेमाथि भइरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिने हो भने एमालेले संसद् बैठक सुचारु हुन नदिने सचिव भट्टराईको चेतावनी थियो । उनले मुलुकलाई जातीय, धार्मिक र साम्प्रदायिक ढंगले विभाजन गर्ने काम गरिएको भन्दै आफ्नो पार्टीलाई सह्य नहुने बताए । 

सचिव भट्टराईले भने, ‘यदि प्रदेशको नाम राख्ने कुरामा कुनै पार्टीलाई चित्त बुझेको छैन भने कोशी प्रदेशमा वैधानिक प्रक्रियाबाट दुई तिहाइ बहुमतबाट तपाई नाम परिवर्तन गर्नुस् हामीलाई त्यो स्वीकार्य छ । त्यो प्रक्रियाबाट आउनुस् । ढुंगामुढा गरेर हुँदैन । अराजकता सृजना गरेर हुँदैन । देशलाई जातीय हिसाबले विभाजन गर्ने, साम्प्रदायिक हिसाबले विभाजन गर्ने यो भन्दा दुखद कुरा केही पनि हुँदैन । ’

सचिव भट्टराईले एमालेलाई लखेट्ने प्रयास गरिएको जिकिर गर्दै त्यसको प्रतिवाद गर्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेतसमेत गराए । 





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १२:५८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया