logo-img

बजेटबारे ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण छ : जनार्दन शर्मा

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शून्य मार्क दिएको उल्लेख गर्दै उपमहासचिव शर्माले उनको सो मूल्याङ्कन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिए  । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटलाई राजनीतिक रङ्ग दिएर हेर्ने काम वस्तुनिष्ठ हुनै नसक्ने बताए ।

उपमहासचिव शर्माले भने, ‘चालू आर्थिक वर्षको बजेटको समीक्षा गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका मेरा आदरणीय नेता, प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीज्यूले शून्य मार्क दिनु भयो । उहाँको उक्त मूल्याङ्कन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिरोधपूर्ण भएको मैले बुझेको छु । यहाँ म कुनै दोहोरी खेल्न चाहन्न । बरु यही दिनमा उठेका प्रश्नको तथ्यगत विवरण पेस गर्न चाहन्छु । म यो तथ्य बुझ्छु कि बजेट जनताको हितमा हुनु पर्छ । ताकि जनताको जीवनमा परिवर्तन आओस् ।’

उपमहासचिव शर्माले आगामी १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव समेत गरेका छन् । यसरी बनेको उच्चस्तरीय आयोगले बजेटको सही मूल्याङ्कन गर्न सक्ने र मुलुकमा विद्यमान आर्थिक सङ्कट समाधान गर्न सकिने उनको तर्क छ ।

उनले भने, ‘आग्रह र पूर्वाग्रह भएर समीक्षा गरौँ । म सम्मानित सदनमा विगत १० वर्षमा आएका बजेटहरूको समीक्षा गरौँ भन्ने प्रस्ताव राख्न चाहन्छु । यसका लागि अर्थविद्, नागरिक समाज, किसान, पत्रकार, पूर्व न्यायाधीश, सम्बन्धित क्षेत्रका विज्ञसमेत भएको एउटा उच्चस्तरीय आयोग वा समिति बनाऔँ । आवश्यक परे यसमा स्वतन्त्र अन्तर्राष्ट्रिय क्षेत्रको विज्ञहरूको पनि सहयोग लिऊँ । ताकि सत्ता र प्रतिपक्षका आग्रह र पूर्वाग्रहबाट मुक्त भई निकालिएका निष्कर्षहरुमार्फत् समस्याहरू कहाँ छन् ? पहिचान गर्न सकियोस् ।’

उपमहासचिव शर्माले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय क्षेत्रका स्वतन्त्र पहिचान भएका विज्ञहरूको पनि सहयोग लिनुपर्ने बताए । 





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १४:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया