logo-img

जनयुद्धमा सामेल नभएकाले प्रचण्डविरुद्ध मुद्दा हाले, हामी प्रतिवाद गर्छौँ : देवेन्द्र पौडेल
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा हालेको आरोप लगाएका छन् । सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री दाहालका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको बताएका हुन् । 

उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्त्वहरूले मुद्दा हालेका बताउँदै शान्ति प्रक्रिया भाँड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको आरोप लगाए । उनले माओवादीका विरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे । सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको बताए ।

उनले भने, ‘शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भीर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ । शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । तर दुर्भाग्य एक थरी तत्त्वहरूले यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरूलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानुन बनाएर कानुनद्वारा हल गर्नेतिर भन्दा पनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडि बढिराखेका छन् । हामी गम्भीरतापूर्वक त्यस प्रकारका प्रवृत्ति, तत्त्व, व्यक्ति र संस्था जो सुकै भए पनि खबरदारी गर्न चाहन्छौँ । किनभने यो राज्यको साझा समस्या हो ।’

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाव दिनका लागि मुद्दाको प्रसङ्ग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रूपले प्रतिवाद गर्ने बताए ।

उनले भने, ‘अदालतले आफैँ कानुन सिर्जना गर्ने होइन । अदालतले राजनीतिक नेतृत्वद्वारा सिर्जित भएका संघीय संसदबाट प्रतिपादित भएका कानुनको व्याख्या गर्ने हो । र त्यो व्याख्या गर्ने गरी सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने यस प्रकारको क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्नेछ । बहुमत प्राप्त गरेर उहाँ संसदबाट प्रधानमन्त्रीको रूपमा आउनुभएको छ । केही तत्त्वहरूले उहाँलाई समेत मनोवैज्ञानिक रूपमा टर्चर गर्ने र अरू नेताहरूलाई पनि टर्चर गर्ने काम गरेका छन् । हामी त्यसको वैचारिक प्रतिवाद गर्छौँ ।’

उनले देशमा संविधान निर्माण, गणतन्त्र स्थापना र समावेशी समानुपातिक प्रतिनिधित्वका लागि तत्कालीन समयमा जनयुद्ध गरिएको भन्दै आन्दोलनमा मानिसहरू हताहत हुनु स्वाभाविक भएको बताए । 





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार १८:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया