logo-img

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गरेका थिए । 

समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी सहभागी थिए । झण्डै १२ वर्षपछि दीक्षान्त समारोह आयोजना गरिएको हो । 

समारोहमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाबारे प्रकाश पारेका थिए । संसारभर मानवता, विश्वशान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउन भूमिका निर्वाह गर्न उनले दीक्षित छात्रछात्रालाई आग्रह गरे । मन्त्री राईले कुनै जाति, वर्ग, समुदाय र पक्षसँग मात्र सम्बन्धित नभई संस्कृत वाङ्मय सबैको साझा सम्पत्ति भएको बताए । 



समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले शास्त्री तहको पाठ्यक्रम २२ वर्षपछि परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनले आयुर्वेद स्नातक तह कक्षा बिएएमएस सञ्चालनमा ल्याएको र स्थापत्य शास्त्र अध्यापनका लागि पाठ्यक्रम तयारी अवस्थामा रहेको उल्लेख गर्दै उपकुलपति लामिछानेले एकीकृत प्राकृतिक चिकित्सा अस्पताल र आयुर्वेद जडीबुटी उद्यान निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए । 

सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका सभासद् लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री, जिल्लाबाट निर्वाचित संघीय र प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो । 

दीक्षान्त समारोहमा ०६७ सालदेखि ०७६ सालसम्म शास्त्री, एकवर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (बिएएमएस), आचार्य र विद्यावारिधि उतीर्ण गरेका चार हजार सात सय ७३ मध्ये आवेदन दिएका पाँच सय ७५ विद्यार्थी दीक्षित भएका थिए ।





  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार २२:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया