योगेश भट्टराईको माग- बाढीपहिरोको क्षतिबारे सरकारले संसदलाई जानकारी गराओस्

नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा बर्षातसँगै गएराति आएको बाढी र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।  

संखुवासभा, ताप्लेजुङलगायतका जिल्लामा बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सचिव भट्टराईले सो घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । 

सचिव भट्टराईले सो घटनाका कारण क्षतिग्रस्त पुल, सडक सुचारु हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।  

‘नेपाल सरकारको यस विषयमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । विशेष गरी यो स्थितिको सम्पूर्ण जानकारी यो सम्मानित सदनमा सरकारको तर्फबाट संसदलाई जानकारी होस भनेर म माग गर्न चाहन्छु । यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीजीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ भन्ने म सभामुख महोदयमार्फत गृहमन्त्रीजीको म ध्यानाकर्षण गर्न चाहन्छु । त्यसैगरी पुल, सडकहरू क्षति पुगेका छन् । त्यसको तत्कालको अवस्था के छ ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु । र, तत्कालै बेलिब्रिजहरूको व्यवस्था गरिकन, झोलुङ्गे पुलहरूको व्यवस्था गरिकन आवागमनलाई सहज बनाउनका लागि पनि म सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । 
 
भट्टराईले पीडितको राहत र उद्धार कार्यक्रममा जुट्न रेडक्रसलगायतका अन्तर्राष्ट्रिय संघ, संस्थालाई आग्रह गरे । 





  • प्रकाशित मिति : असार ३, २०८० आइतबार १२:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया