स्वास्थ्य विश्वविद्यालय मागको आन्दोलनमा प्रहरी धरपकड

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । 

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सोमबार अस्पतालका निर्देशक डा. प्रमोद जोशीलाई भेट्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार निर्देशक जोशीलाई भेटेर गेटामा अस्पताल सञ्चालनको बारेमा जानकारी लिन पुगेको संघर्ष समितिको टोलीलाई नभेटी निर्देशक जोशी जिल्ला प्रशासन कार्यालय धनगढी पुगेपछि विवाद भएको थियो । उनी असुरक्षाको कारण देखाउँदै धनगढी गएका थिए । बिहान १० बजे नै निर्देशक जोशीलाई भेट्न संघर्ष समिति गेटामा पुगेको थियो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले निर्देशन जोशीसँग अस्पताल सञ्चालनका विषयमा जानकारी लिने कार्यक्रमअन्तर्गत गेटामा पुगको भए पनि उनी सम्पर्कमा आउन नचाहेको बताए । ‘कसैले उहाँलाई कालोमोसो दल्ने गलत सूचना दिएका रहेछन् । त्यसैले उहाँ सिडिओ कार्यालयमा बसेको भन्ने खबर पाएका छौँ,’ उनले भने, ‘हामीले त्यस्तो कुनै कार्यक्रम राखेका छैनौँ । हामीले उहाँसँग भेटेर गेटामा अस्पताल सञ्चालनका विषयमा भइरहेको पछिल्लो जानकारी मात्रै लिन खोजेका हौँ । उहाँलाई कार्यालयमा आएर जानकारी दिन अनुरोध गर्दछौँ ।’

गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीसँग कुराकानी गर्न गएका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको थियो । यसैबीच आन्दोलनकारीले आजै नै ४ बजे देखि ५ बजेसम्म सरकारी सवारीसाधन अवरुद्ध गरेर आन्दोलन गरिरहँदा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । स्थानीय युवा विनोद विष्ट, पुष्कर जोशी र सूर्य खत्रीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेपछि आजै नै साँझ अत्तरियामा राँके जुलुससमेत निकालिने आन्दोलनकारीले जानकारी दिए । 
 





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १८:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया