logo-img

कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार सञ्चालनको तयारी, विदेशबाट फर्किएका ३२५ युवाको लगानी
फाइल तस्बिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ ।

कावासोती–१४ अग्यौलीमा निर्माणाधीन ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो । 

चालू आर्थिक वर्ष २०७९/८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले जानकारी दिए । ‘यही असारभित्रै हामीले एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ’, उनले भने, ‘वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियता र लगानीमा चिस्यान केन्द्र निर्माणको काम तीव्र गतिमा अघि बढेको हो ।’ 



वैदेशिक रोजगारीमा गएर स्वेदश फिर्ता भएका ३ सय २५ युवाहरूले शीतभण्डारमा लगानी गरेका छन् । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय पोखराको १ करोड ९२ लाख रुपैयाँ आर्थिक सहयोगमा शीतभण्डारको ‘स्टिल स्ट्रक्चर’ र प्यानल निर्माण भइरहेको अध्यक्ष थनेतले जानकारी दिनुभयो । निर्माणको सबै काम सकेर अबको केही दिनभित्रै एक हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालन गर्ने गरी काम अघि बढेको उनले बताए ।  

शीतभण्डारको निर्माणको काम सकाएर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि अझै केही समय लाग्ने अध्यक्ष थनेतले जानकारी दिए । जर्मन प्रविधिबाट निर्माण भइरहेको अत्याधुनिक प्रविधि जडान गरिएको शीतभण्डारको लगात २१ करोड रुपैयाँ रहेको थनेतले बताए ।  

शीतभण्डारमा आठवटा च्याम्बर रहने जानकारी दिँदै अध्यक्ष थनेतले फलफूल, तरकारी तथा माछामासु छुट्टाछुट्टै च्याम्बरमा भण्डारण गरिने बताए । कृषकले उत्पादन गरेका कृषि उपज शीतभण्डारमा बिक्री गर्न सक्ने उल्लेख गर्दै उहाँले शीतभण्डारमा तोकिएको शुल्क तिरेर कृषक आफैंले पनि आफ्ना उत्पादन सुरक्षित राख्न सक्ने थनेतको भनाइ छ ।



अहिले १ हजार मेट्रिक टन क्षमतामा शीतभण्डार सञ्चालन गरेसँगै पूर्णक्षमता तीन हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्ने गरी आपूmहरूले काम गरिरहेको अध्यक्ष थनेतले बताए । शीतभण्डारमा कृषि उपज भण्डार गर्ने कामसँगै दुग्ध प्रशोधन केन्द्रसमेत निर्माण गरिने उनले बताए । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीको पहलमा उक्त शीतभण्डार निर्माण हुन लागेको हो ।

वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरूको पहलमा कम्पनीमार्फत चिस्यान केन्द्र, एग्रोफार्म, एग्रोमार्ट, दूध प्रशोधन केन्द्र, एग्रो रिसोर्ट एन्ड रिसर्च सेन्टर निर्माणलगायत परियोजना अगाडि सारिएको कम्पनीका बजार अधिकृत रेशम खत्रीले जानकारी दिए ।  



‘परियोजना पूर्णरूपमा सञ्चालनमा आउँदा शीतभण्डारमा पाँच सय मेट्रिक टन क्षमताका समान छवटा चेम्बर रहनेछन्,’ खत्रीले भने, ‘एउटामा माछामासु, एउटामा २५ टन क्षमताको अटोमेसन मसरुम कल्टिभेसन (स्वचालित च्याउ उत्पादन) र बाँकी चार चेम्बरमा फलफूल तथा तरकारी राख्ने गरी निर्माण अगाडि बढाएका छौँ ।’

मसरुम कल्टिभेसनबाट डल्ले च्याउ उत्पादन गरिने छ । च्याउको बीउ राखिएको ४० दिनपछि प्रतिदिन १ सय किलोका दरले ९० दिनसम्म उत्पादनमा आउने उनले बतए ।   
 
तीनवटै सरकारको ५० तथा संस्थाको ५० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माणको काम सुरु भइरहेको खत्रीले बताए । कृषि उपजको वृद्धिका लागि कृषकलाई अत्याधुनिक तालिम र गुणस्तरीय बीउबिजन चिस्यान केन्द्रले समेत उपलब्ध गराउने खत्रीको भनाइ छ । कृषकलाई गुणस्तरीय बीउबिजन प्रदान गर्दा साविकको भन्दा बढी उत्पादन हुने र कृषकको  लागत खर्च कम भइ प्रतिफल वृद्धि हुने उनले बताए ।  

जिल्लाका मध्यविन्दु, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा तरकारी खेतीका साथै तराईमा फल्ने मौसमी फलफूलको राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै हुप्सेकोट गाउँपालिका आलु उत्पादनको मुख्य क्षेत्र मानिन्छ । यहाँको आलु छिमेकी जिल्लामा पनि बिक्री वितरण हुँदै आएको छ । 

त्यसैगरी गैँडाकोटसहित यहाँका पहाडी क्षेत्रमा सुन्तला प्रजातिका फलफूलको उत्पादन राम्रो हुने गरेको छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर फाल्नुपरेको यहाँका कृषकको नमिठो अनुभव छ । जिल्लामा उत्पादित आलु, सुन्तला, अमिलो, प्याजलगायत कृषि उपज र हिमाली क्षेत्रको स्याउसमेतको यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने भएपछि स्थानीय कृषक हर्षित भएका छन् । रासस 

  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १०:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया